arrow

‘एक रुपैयाँ बचत’ अभियान प्रभावकारी बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
Rong_Gaunpalika.png

इलाम । इलामको रोङ गाउँपालिका–३ का पाँच वर्षीय आरभ अर्यालले हजुरबुबाले टीका लगाएर दिएको रु पचास आफ्नो खातामा राख्न दिए । रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ कार्यक्रम प्रारम्भ गरेपछि उनले टिका लगाएको रकम खातामा जम्मा गर्न लगाएका हुन् ।

रोङका विद्यार्थीले महिनामा रु पाँच हजारसम्म बचत गर्न थालेका छन् । अर्यालको खातामा पनि एक महिनाको अवधिमा रु चार हजार आठ सय जम्मा भएको छ । उनकी आमा सम्झनाले भनिन्, “चकलेट खाने उमेरमा पैसा बैँकमा राख्छु भन्ने मानसिकता पालिकाले नै बनाइदिएको हो ।” 

विद्यार्थीको नाममा प्राइम कमर्सियल बैंकमा पालिकाले नै खाता खोलिदिएको अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार, ‘बैंकले पनि प्रत्येक विद्यार्थीको खातामा रु एक सय जम्मा गरिदिने सम्झौता भएको छ । 

यसबाट पालिकाका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुने पालिकाले जनाएको छ । मङ्सिरमा एउटा विद्यार्थीको खातामा रु पाँच हजार जम्मा भएको अध्यक्ष स्याङ्बोले बताए । 

हरेक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पालिकासँग सम्झौता गरेको हो । विद्यार्थीको बैंक खाता विद्यालयमै खोलिने अध्यक्ष स्याङ्बोले बताए । 

“अध्यक्षसँग विद्यार्थी, विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको छ”, अध्यक्ष स्याङ्बोले भने, “कार्यक्रमका लागि कार्यविधि पारित भएको छ ।” 

आर्थिक अभावले बालबालिकाले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले थालिएको उक्त कार्यक्रमलाई अभिभावकको साथ रहेको छ । “हाम्रो पुस्ताले भोगेका समस्या आउँदो पुस्ताले भोग्न नपरोस् भन्ने उद्देश्य हो,’ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले भनिन्, “भोलिका लागि आजैदेखि लगानी गर्नुपर्छ भनेर यो अवधारणा ल्याइएको हो । अहिले कार्यविधिका लागि निर्देशक समिति र प्रत्येक विद्यालयमा कार्यान्वयन समिति गठन गरिएको छ ।” 

“अभिभावकसँग भेटघाट तीव्र पारेका छौँ, बैंकमा खाता खोल्ने क्रम पनि जारी छ”, उनले भनिन्, “यो महिनाको हालसम्ममा यस कार्यक्रमअन्तर्गत न्यूनतम् रु ५० देखि रु पाँच हजारसम्म जम्मा भएको छ ।” 

यसरी बचत गर्दैजाँदा विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि सहज हुने पालिकाले जनाएको छ । बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार  गरिएको र यो काम हेर्ने शिक्षकलाई तालिमको व्यवस्था गर्न लागिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ