बालुवाटार काण्डका आरोपी गगनले अख्तियार प्रमुख घिमिरेको नाम लिएपछि
हाम्रा कुरा
प्रकाशित २०७६ पुष ३ बिहिबार
1.2k
Shares
काठमाडौं। सरकारी कागजात कीर्ते गरी जग्गा घोटालामा परेका एक आरोपीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई अप्ठेरोमा पारिदिएका छन्।
काठमाडौंको बालुवाटार जग्गा काण्ड भन्दा धेरै मूल्य र ठूलो परिमाणको मानिएको झापाको बालुवाटार जग्गा घोटाला काण्ड गर्ने समूहका अगुवा गगन पुरीका कारण अख्तियार प्रमुख अप्ठेरोमा परेका हुन्। झापाको बालुवाटारमा करिब ५० बिगाहा जग्गा कीर्ते गरी विभिन्न व्यक्तिको नाममा राखेका गगन पुरी नेकपा झापाका नेता हुन् । उनीविरुद्ध झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
नेपाल प्रहरीको सिआईबीले जग्गा घोटाला छानविन क्रममा घोटाला काण्डको मुख्य अगुवा गगन देखिएपछि पक्राउ आदेश लिएको थियो । तर, पक्राउ परिने पहिले नै थाहा पाएपछि गगन फरार भएर भारत पुगेका छन् । उनलाई नेपाल प्रहरीले भारतबाट पक्रेर ल्याउने भएको छ ।
गगन पुरीले फरार अवस्थामा नै फेसबुकमा पाँच पानाको विवरण सार्वजनिक गरेका छन् । उनले त्यसमा अख्तियार प्रमुखसँग पनि भेटेको खुलासा गरेका छन् । बालुवाटारमा आफ्नो परिवारको ५० बिगाहा भन्दा धेरै जग्गा रहेको दावी गर्दै सो जग्गा सम्बन्धमा अख्तियारमा उजुर परेको उनले लेखेका छन् । अख्तियारमा उजुर परेपछि प्रमुख आयुक्त नवीन घिमिरेलाई भेटेर सो जग्गा आफ्नै हो भनी सहमत गराएको उनले लेखेका छन् ।
अख्तियारमा परेको उजुरी मिलाउन गगनले कसरी प्रमुख आयुक्तसँग भेटे भन्ने प्रश्न उठेको छ । आयुक्तलाई भेटेपछि सो उजुरीमा छानविन अगाडि नबढेको पनि गगनले खुलासा गरेका छन् । अख्तियारमा सो जग्गाका बास्तविक हकदार सुकुम्वासीहरुले उजुरी दिएका थिए ।
बालुवाटारको सो जग्गामा विगतमा सुकुम्वासी बस्थे । ०३९ सालमा उनीहरुको नाममा तत्कालीन सुकुम्वासी आयोगले सो जग्गा लेखिदिए पनि आयोग विघटन हुनाले धनीपूर्जा पाएका थिएनन् । पछि सो जग्गा रतुवा खोलाले खायो र वस्ती उठ्यो । पछि सो जग्गा गगन पुरीको समूहले कीर्ते गरेर कब्जा गरेको देखिएपछि सिआईबीले छानविन थालेको हो ।
फरार आरोपीले आफ्नो नाम लिएपछि अख्तियार प्रमुख घिमिरे पनि छक्क परेको स्रोतले बताएको छ । अख्तियार स्रोतका अनुसार सो जग्गा घोटाला प्रकरणमा थन्काइएको फायल अख्तियार प्रमुखले पुन खोल्न लगाएका छन् ।
अख्तियार स्रोत अनुसार गगन पुरीको समूहले बालुवाटारको जग्गाको नक्कली कागजात बारम्बार परिवर्तन गरेको छ । एउटा चरणमा गरिएको परिवर्तनको अख्तियारले छानविन गरिरहेको छ भने अर्को चरणको परिवर्तनको सिआईबीले छानबिन गरिरहेको छ । गगन पुरी समूहले झापाका अन्य ठाउँका पनि जग्गा कब्जा गरेको आशंकामा अख्तियारले थप छानविन अगाडि बढाउन लागेको छ।
गगनको समूहले कब्जा गरेको दमक बालुवाटारको जग्गामा अर्बपति अजेयराज सुमार्गी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, ठेकेदार गणेश बस्नेत लगायतले १६ अर्ब रुपैयाँको लागतमा डिज्नेल्याण्ड पार्क बनाउने घोषणा गरेका थिए । अख्तियार र सिआईबीले जग्गा घोटाला छानबिन गरेसँगै उनीहरुको पार्क त्यहाँ नबन्ने भएको छ ।
सिआईबी स्रोत अनुसार सो जग्गा विगतमा सुकुम्वासीका रुपमा दर्ता भएका व्यक्ति तथा उनका परिवारलाई नै दिने गरी सिआईबीले अदालतमा मुद्दा दायर गर्ने भएको छ । त्यसैगरी सरकारी जग्गा भने सरकारकै नाममा फर्काइने भएको छ ।