पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
625
Shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। निर्माण व्यवसायीहरूबाट घुस लिएको र उक्त रकम गैरकानुनी रूपमा व्यवस्थापन गरेको प्रमाण भेटिएपछि आयोगले यो कदम चालेको हो।
अनुसन्धानका क्रममा निर्माण सेवाका सञ्चालक तथा संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रकम जम्मा गराएको पाइएको छ। आयोगका अनुसार विभागले गरेका विभिन्न ठेक्का सम्झौताहरूमध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्काबाट उनीहरूले ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ घुस लिएका थिए।
यसरी प्राप्त घुस रकमबाट उनीहरूले आपसी मिलेमतोमा संयुक्त रूपमा जग्गा र सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरी सम्पत्ति लुकाउने र हस्तान्तरण गर्ने कार्य गरेको आयोगको ठहर छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई रूपान्तरण र हस्तान्तरण गरी वैध बनाउन खोज्नु कानुन विपरीत भएको पुष्टि भएको छ। अख्तियारले तत्कालीन इन्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी दुवैसँग जनही ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।