रास्वपाका सहमहामन्त्री अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
1.3k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री हरिप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सुर्खेतको चौकुने गाउँपालिका–५, स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।
अख्तियारले सामुदायिक वनको रकम निर्णय बिनै खर्च गरेको अभियोगमा वनका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले एक लेखापरीक्षकका विरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन वन समितिका सदस्य अधिकारी रास्वपा कर्णाली प्रदेशका प्रवक्तासमेत हुन् । उनीहरूको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन आम्दानी र खर्चको विवरणबाट कार्ययोजना नबनाई उपभोक्ता समितिको निर्णय बगेर आर्थिक हानी नोक्सानी गरेको आरोप अख्तियारले लगाएको छ ।
उनीहरूले बिलबिना सडक निर्माण कार्यमा खर्च गरेको भनी नक्कली कागजात राखी भुक्तानी गरेको, लेखापरीक्षण नै नभएको अवस्थामा लेखापरीक्षण शुल्क भुक्तानी गरिएको भनी खर्चका नक्कली कागजात राखेको, काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरेको र नर्सरी व्यवस्थापनका नाममा भएको खर्चको कुनै कागज प्रमाण मिसिल संलग्न नगरी नगराई बिना बिल/भरपाई पाँच लाख १७ हजार पाँच सय रुपैयाँ खर्च गरेको अख्तियारले जनाएको छ ।