arrow

नेपालमा हाइड्रोजन सवारी साधनको विकासका लागि गृहकार्य शुरू, मन्त्रालयले माग्यो लिखित सुझाव

छ ओटा क्षेत्रमा केन्द्रित रहेर सुझाव माग, पुराना सवारी रूपान्तरण गर्ने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
hydrogen-bus.jpg

काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ। यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो।

मन्त्रालयले जारी गरेको सूचना अनुसार हाइड्रोजन प्रविधिको प्रयोगका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, निर्देशिका र आवश्यक जनशक्ति विकाससम्बन्धी विषयमा सुझावहरू सङ्कलन गर्न लागिएको हो। यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले मुख्यतया छ ओटा क्षेत्रमा केन्द्रित रहेर सुझाव माग गरेको छ, जसमा हाइड्रोजन सवारीसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, नीतिगत व्यवस्था, र उत्पादनदेखि इन्धन भर्ने पूर्वाधारसम्मका सुरक्षा मापदण्डहरू रहेका छन्। विशेषगरी हाल सञ्चालनमा रहेका आन्तरिक दहन (इन्टरनल आइसीई) इन्जिनयुक्त सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, त्यसको लागत र प्राविधिक पक्षका बारेमा समेत सुझाव मागिएको छ।

इच्छुक सरोकारवालाहरूले आगामी २०८१ साल साउन २० गतेसम्म मन्त्रालयको आधिकारिक इमेल मार्फत आफ्ना सुझावहरू पेस गर्न सक्नेछन्। सुझाव पेस गर्दा सम्बन्धित संस्था वा निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र र अनुभव समेत अनिवार्य रूपमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ।

मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको आवश्यक अध्ययन र विश्लेषण गरिनेछ। त्यसकै आधारमा नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनसम्बन्धी ठोस नीति, कानुनी व्यवस्था र कार्यविधि तर्जुमा गरिने सरकारको योजना रहेको छ। यस कदमले नेपालको यातायात क्षेत्रलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ