भेपमा सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहित २८ जना विरुद्ध मुद्दा दायर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
1.2k
Shares
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा विमानस्थल भन्सारका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ रहेका छन्। त्यस्तै, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेल विरुद्ध पनि मुद्दा दर्ता भएको छ।
यसैगरी, पूर्वसभामुख महराका छोरा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री र अमृत कार्कीलाई पनि प्रतिवादी बनाइएको छ। तस्करीमा संलग्न रहेका निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दीपिका थापा, चिनियाँ नागरिकहरू ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियमका नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेब राव विरुद्ध पनि मुद्दा दायर गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, प्रतिवादीहरू विरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरिएको छ। भेपभित्र लुकाएर ल्याइएको सुन भन्सार प्रक्रिया बाहिरबाट छुटाउन र तस्करी गर्न पदीय दुरुपयोग तथा आर्थिक चलखेल गरेको दाबीसहित अख्तियारले यो कदम चालेको हो।