कर्मचारीलाई चेतावनी : 'सामाजिक सञ्जालमा जथाभावी लेख्नेको विवरण सुरक्षित छ, सबैलाई कारबाही गर्छाैं'
प्रकाशित २०७५ पुष १७ मंगलबार
479
Shares
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा मन्त्री, सचिव र अन्य उच्च पदस्थ कर्मचारीहरु विरुद्ध आफ्नो सामाजिक सञ्जालमा जथाभावी लेख्ने कर्मचारीहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव सुरेश अधिकारीले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
अधिकारीद्वारा जारी विज्ञप्तीमा निजामती सेवा ऐन २०४९ को उल्लेखित आचरण र अनुशासनलाई वेवास्ता गरी आफू निजामती कर्मचारी हो भन्ने समेत नबुझी मन्त्री, सचिव, लगायत पद, वर्ग जात तथा सम्प्रदायसँग जोडेर सामाजिक सञ्जालमा गैर जिम्मेवार पूर्वक अनुशासन र आचरण विपरित अभिव्यक्ति दिने राष्ट्र सेवक कर्मचारीहरुको विवरण मन्त्रालयले सुरक्षित राखेको समेत बताईएको छ ।
यसरी आचरण विपरित काम गर्ने राष्ट्र सेवक कर्मचारीहरुलाई निजामती सेवा ऐन २०४९, सो को नियमावली २०५०, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ सो को नियमावली २०६५, विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।