डा.केसीलाई बोक्ने गगन थापा र रवीन्द्र मिश्रलाई नछोड्ने धम्की
'गोविन्द केसी अनशन बसे, म पनि उनको बिरुद्धमा अनसन बस्छु'
प्रकाशित २०७५ पुष १६ सोमबार
529
Shares
काठमाडौं। सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विद्येयक कुनैपनि हालतमा पास गर्न नहुने बताएका छन। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले आफुले ५३ दिनसम्म भोक हड्तालमा बस्दासमेत सरकारले वास्ता नगरेको गुनासो पोख्दै चिकित्सा शिक्षा विद्येयक तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
उनले भने,‘श्रीमतीले छोडेर सडकमा आएका डा.गोविन्द केसीले भनेको आधारमा सरकारले कानून बनाउन पाईदैन, यदि केसी फेरी अनसनमा बसेको खण्डमा म पनि तिनको बिरुद्धमा अनसनमा बस्न तयार छु, कसैले पनि डा.केसीलाई हतियार बनाएर राजनीति गर्न पाईदैन, स्वास्थ्य क्षेत्रलाई प्रभावित पार्न खोजे दुर्घट्ना हुन्छ, कोही केसीलाई हतियार बनाएर देशलाई तहसनहस बनाउँन खोज्छन् भने हामी त्यसको बिरुद्धमा उभिनेछौं।’
थापाले डाक्टर केसीलाई कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बोकिरहेको पनि आरोप लगाए। केसीको पक्षमा वकालत गर्दै आएका गगन थापा र रवीन्द्र मीश्रलाई नछोड्ने चेतावनी दिए। डाक्टर केसी कुनै देवता नभएको उनको टिप्पणी छ।
उनले भने,‘डा.केसीलाई गगन थापा र रवीन्द्र मीश्रलगायतले बोकिरहेका छन्, हामी कसैको बिरोधी होईनौं, देशभरि अस्पताल खोल्नुपर्छ, यो वातावरण सरकारले बनाउनुपर्छ, संसदबाट पारित हुन लागेको राष्ट्रघाती चिकित्सा शिक्षा विद्येयक खारेजी गर्नुपर्छ भन्ने हाम्रो माग हो।’
थापाले नेपालमा एम.डी. र पि.जी. क्लासको कोटा तत्काल कम्तिमा १५ सय पुर्याउनुपर्ने, तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने, बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा दुर्घट्नामा मृत्यु भएको १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने, सरकारी तलब,भत्ता र सेवा-सुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन्।
थापाको नाममा जारी विज्ञप्तीको अन्तिममा भनिएको छ,‘माथि उल्लेखित हाम्रा माग बिरुद्ध यदि कुनै पनि संस्था, व्यक्ति होउन् या सरकार लाग्छ भने त्यसको परिणाम अवस्य राम्रो हुनेछैन्। त्यस्ता बाधक तत्वविरुद्ध प्रतिकारमा उत्रनुको बिल्प छैन।’