नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षमा जगदिश ऐर निर्वाचित
प्रकाशित २०७५ पुष १५ आइतबार
379
Shares
काठमाडौं। नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षमा जगदिश ऐर निर्वाचित भएका छन् । देशभरका युवा संस्थाहरुको छाता संस्था आयोनको शनिवार सम्पन्न महाधिवेशनबाट ऐरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा आयोनको १३ औँ साधारण सभा तथा सातौँ महाधिवेशन भएको हो ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा तुलसीराम चौलागाईं, ७ जना प्रदेश उपाध्यक्ष, महासचिवमा निरज बाग, सचिवमा सञ्जय कुश्वाहा र कोषाध्यक्षमा जित बहादुर खड्का निर्वाचित भएको आयोनले जनाएको छ ।
‘संविधानले प्रत्यायोजित गरेका युवाका हक अधिकार कार्यान्वयनका लागि संस्थाका तर्फबाट निरन्तर खवरदारी गर्नेछौं’, नवनिर्वाचित अध्यक्ष ऐरले भने, ‘युवाहरुलाई अधिकार मात्र होइन, कर्तव्यप्रति पनि जिम्मेवार बनाउन हामीले अभियान सञ्चालन गर्छाैं ।’
आयोन देशभरका ४४ जिल्लाका ९२ युवा संस्थाहरूको छाता संस्था हो । सन् २००५ मा स्थापित संस्थाले युवाहरूको नीति निर्माणमा सहभागीता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धान लगायतका कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।