एक ब्राम्हण कांग्रेसी नेताको कथा जसले दलित सशक्तिकरणमा दिए साथ
कम्युनिष्ट नेता दलित गरीव विद्यार्थीलाई हजारको नोट दिएर बाआमालाई भोट हाल्न भन्नु भन्थे कांग्रेस नेता पन्थीले विद्यार्थी नै पढाइदिए
प्रकाशित २०७५ पुष ४ बुधबार
744
Shares
गुल्मी । एक जाज्यवल्यमान युवा नेता हुन् खिलध्वज पन्थी । नेपाली कांग्रेस गुल्मीको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् उनी । नेपाली समाज, संस्कृति, राजनीति सबैलाई उनले नजिकबाट नियाल्दै आएका छन् ।
समाजमा व्याप्त गरीबी, दलितपन, पछौटेपन जस्ता कारणले समाजका केही मानिसहरु शिक्षा लिनबाट वञ्चित छन् । तर शिक्षाबाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने सोँच नेता पन्थीको छ । यस्तो कार्यमा उनी एक शैक्षिक अभियन्ताका रुपमा अब्बल देखिएका छन् ।
प्रसङ्ग शुरू गरौं स्थानीय तहको निर्वाचन २०७४ बाट । जताततै चुनावको माहोल थियो । सबैतिर चुनावी प्रचार छाएका थिए । सबैजना आ–आफ्ना उम्मेदवारहरू जिताउन व्यस्त थिए । चुनावताका चर्को घाम, पानी, थकाई मार्ने फुर्सद थिएन कसैलाई । त्यति नै बेला नेता खिलध्वज पन्थी पनि बस्ती(बस्तीमा हिंडिरहेका थिए ।
निर्वाचनको पर्चा बोकेर घरदैलो गर्दै थिए उनी । त्यही बेला उनको भेट १६ वर्षे एउटा केटासँग भयो जसको अनुहारमा एसईई पास भएको खुशी भन्दा ११ भर्ना हुन नसक्नुको दुःख बढी झल्किन्थ्यो । हाम्रो समाजले भिराएको दलित जातका, उनको नाम बलबहादुर टोमटा । रेसुङा नगरपालिका –५, भुवनपानी घर भएका बलबहादुर चुनावी प्रचारमा आएका सबै जसोसँग आफ्नो उच्च शिक्षाको वातावरण मिलाई दिने पुकार गर्दा रहेछन् ।
पढ्ने मन हुँदाहुँदै पनि आर्थिक अवस्थाले नभेट्ने भएपछि सहयोगको आश बोकेर डुलिरहेको एउटा दलित, गरीब बिद्यार्थी । गरीबीको पोको फुकाए उनले ‘मलाई पढ्न मन छ तर घरमा पढाउन सक्ने स्थिति छैन । बाले अब कमाउन पर्छ तैले भन्नुहुन्छ । मामासित दिल्ली जा भन्नुहुन्थ्यो हिंजो पनि । अंकल म दिल्ली जान्न । पढ्छु तम्घास गएर।’ त्यतिबेला नेता पन्थी उनलाई पढ्ने वातावरण मिलाउने बाचा गरेर फर्के ।
चुनावको बेला अक्सर धेरैको नजर दलित बस्तीमा पर्छ । एक छाक खानाका लागि रातदिन पसिना बगाउने दलित समुदायको भोको पेट पाल्न मजदुरी गर्नु उनीहरुको मजबुरी बन्दै आएको छ । त्यो दलित बस्तीमा फरक–फरक पार्टीका नेता कार्यकर्ता पुगेर भोट मागे । सबैसँग ती बलबहादुरको एउटै पुकार थियो कि मलाई उच्च शिक्षा पढ्न मन छ ।
निर्वाचन सकियो । दलित बस्तीमा हिजोआज नेताहरुको आवात जावत पनि हुँदैन । तर नेता पन्थीलाई भने निर्वाचनमा आफूले गरेका बाचाहरुले सुत्न दिएनन् । अन्ततः नेता पन्थी त्यो परिवारकहाँ पुगे। बलबहादुरका बाबालाई भेटेर आवश्यक छलफल पछि सबै वातावरण मिलाए ।
गरीबीले भारतमा गएर मजदूरी गर्न दवाब दिइरहेको परिवारका बलबहादुर अहिले निर्धक्क तम्घासकै रेसुङा बहुमुखी क्याम्पसमा पढ्दै छन् । त्यो भेट टोमटाको लागि मारेको इच्छा फर्काउने अवसरमा परिणत भयो ।
उनी भन्छन् ‘कम्युनिष्ट पार्टीका एउटा नेता पनि आएका थिए। मैले पढ्न रहर छ भन्दा पढ्ने कुरा पछि गरौँला म अहिले रु १ हजार दिन्छु आमा र हजुर आमालाई भोट हामीलाई दिन भन्नु भन्ने जवाफ दिए ।’
शिक्षा क्षेत्रमा पन्थीको यो पहिलो प्रयास मात्र थिएन । रेसुङ्गा नगरपालिका ५ भुवनपानीकै मनकला बि।क। साथै नितु सुनार पनि उच्च शिक्षा रेसुङ्गा बहुमुखी क्याम्पसबाट लिँदैछिन् उनकै पहलमा ।
दलितलाई मात्र होइन आर्थिक अवस्था कमजोर भएका गैरदलितहरुलाई पनि नेता पन्थीले सहयोग गदै आएका छन् । रेसुङ्गा नगरपालिकाका १ का शालिक खनाल उनकै सहयोगमा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका छन् ।
त्यस्तै नेत्रप्रसाद खनाल बुटवलमा अध्ययन गर्दै छन् । त्यतिमै सिमित रहेनन् पन्थी। सोही स्थानकै ७६ वर्षिय टोयटनी आवैले आँखाको उपचार गर्न सकेकी थिइनन् । अहिले उनका आँखा ठीक भई सके। ढगबहादुर दमाईलाई बिजुली घरमा बाल्न पाए कस्तो हुन्थ्यो भन्ने पिरले सताइरहेको थियो । अहिले उनको घरमा बिहान बेलुका टुकी चाहिँदैन । बिजुली बाल्न पाए पछि उनी पनि खुशी छन्। । सूर्य कामीकी श्रीमती रोगले थला परेकी छिन् । उनै पन्थीले उपचारमा सहयोग गरी रहेका छन् ।
स्मरण रहोस् पछिल्लो समय गुल्मीमा काँग्रेसले महाअभियान नै चलाएको थियो दलित सशक्तिकरणका लागि । सोही अभियानको मर्म जस्तै ठ्याक्कै पन्थीका कर्म र स्वभाव मेल खाएका छन् ।
उक्त अभियानको कर्ममा पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापासँगै पन्थी पनि धुर्कोट – ७ वाग्लाको गाँउमा दलित परिवारकहाँ एक हप्ते सश्रम आवासमा बसेका थिए । दलित उत्थानको क्षेत्रमा उनका पाइला सधैं यसरी नै लम्की रहुन् ।