अन्तर्राष्ट्रिय आप्रवासन दिवसः लाखौं नेपाली युवा विदेसिन वाध्य, सरकारको रोक्ने योजना अलपत्र
प्रकाशित २०७५ पुष ३ मंगलबार
424
Shares
काठमाडौं । मंगलबार डिसेम्बर १८ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउने गरिएको छ ।
यो दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा गर्दै सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराउँदै आएका छन् ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरेका छन् ।
“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ,” उनले सन्देशमा भनेका छन्, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”
बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
“स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको छ,” सन्देशमा उल्लेख छ ।
राष्ट्र संघले डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएको सम्झाउँदै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हकअधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।