पहिल्यै अयोग्य घोषित गरेको नेकपाले छान्ला त प्रन्यामा चोलेन्द्रलाई ?
प्रकाशित २०७५ पुष १ आइतबार
745
Shares
काठमाडौं । नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्बाट स्वीकृत भएका न्यायाधीश चोलेन्द्र शमशेर जवराको अब संसदीय सुनुवाई समितिमा छलफल हुँदैछ ।
आइतबार बिहान ११ बजे संसदीय सुनुवाई समितिमा जवरा पुग्दै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुमाथि धर्मसंकट चुलिएको छ ।
अर्का न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको नेकपाको कब्जामा रहेको सुनुवाइ समितिले अहिले चोलेन्द्रलाई कसरी स्वीकृत गर्छ त ? भन्ने अहम् प्रश्न खडा भएको छ ।
जोशीलाई यसअघि समितिले अस्वीकृत गर्दा योग्य नभएको आरोप लगाएको थियो । शैक्षिक प्रमाणपत्रको विषय पनि उठाएर अयोग्य घोषित गरेको थियो ।
अहिले जोशीलाई न्याय परिषद्ले सिफारिस गर्दा पनि जवरासंगै ‘संसदीय समितिबाट अयोग्य घोषित’ भन्ने विशेषण झुण्डाएर दुई जनाको नाम राखेको थियो ।
त्यसकै आधारमा संवैधानिक परिषद्ले जवरालाई छान्यो र संसदीय सुनुवाई समितिमा पठायो । यसमा कुनै पनि गुन्जायस रहेन । सर्वसम्मति भयो । प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सहमति जनायो ।
विगत पल्टाऔं त
विगत पल्टाउने हो भने चोलेन्द्र शमशेर जवरालाई नेकपाले अयोग्य घोषित गरेको थियो ।
०७१ जेठ १२ गते सर्वोच्च अदालतको न्यायाधीशका लागि अयोग्य भनी तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र नेकपा संयुक्तले विपक्षमा मतदान गरेका थिए ।
तत्कालीन संसदीय सुनुवाई समितिमा ६९ जना सांसद रहेकामा नेकपाका २४ जनाले विपक्षमा मतदान गरेका थिए ।
अहिले उनै व्यक्तिलाई प्रधानन्यायाधीशका लागि नेकपाले योग्य ठान्ला ? चोलेन्द्रलाई सिफारिस नगरे संवैधानिक समस्या देखिने विश्लेषण पनि गरिन्छ ।
तर पुराना कुरा बिर्सेर जवरालाई चोख्याएर योग्य बनाउन नेकपा लागेको बुझिएको छ ।