arrow

२५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
Reconstruction_Helpline.JPG

काठमाडौं । रामेछाप उमाकुण्ड गाउँपालिकाका राम बहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो भरेका थिए । तर, लामो समयसम्म गुनासोको नजिताबारे थाहा पाउन सकेनन् । सोध्नलाई काठमाडौं आउन पनि समय र खर्च लाग्थ्यो । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पैसा नलाग्ने टेलिफोन सेवा सुरु गरेको र त्यसमा फोन गरेर आफ्नो समस्या राखे सहयोग मिल्ने थाहा पाए ।

उनले प्राधिकरणको हेल्पलाइन नम्बर पत्ता लगाउनु भयो र फोन गरे। नभन्दै हेल्पलाइनका अपरेटरहरुले उनको नजिताको बारेमा प्राधिकरणका अधिकारीहरुसँग सोधखोज गरी जानकारी गराइदिए । बस्नेतले त्यसपछि प्राधिकरणको हेल्पलाइनबारे अन्यलाई पनि जानकारी दिए । कति लाभग्राहीका समस्याबारे आफैं फोन गरेर पनि सोधिदिए।

प्राधिकरणद्वारा संचालित टोल फ्रि हेल्पलाइनबारे शुक्रबार राजधानीमा आयोजित छलफल कार्यक्रममा बस्नेतले प्राधिकरणको हेल्पलाइनबाट समस्यामा परेका आफनो र छिमेकी गाउँपालिकाका भूकम्प प्रभावितलाई निकै सजिलो भएको अनुभव सुनाए ।

पैसा नलाग्ने दुई टेलिफोन नम्बरमा फोन गरेर लाभग्राही वा अन्य व्यक्तिले पुनर्निर्माणसँग सम्बन्धित जुनसुकै जिज्ञासा राख्न सक्छन् । प्राधिकरणले सन् २०१७ मे महिनादेखि १६६०–०१–७२००० (एनटिसी) र ९८०१५–७२१११ (एनसेल) का दुईवटा नम्बरका हेल्पलाइन सुरु गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली टोल फ्रि सेवाबाट प्राप्त सूचना तथा सुझावबाट केन्द्रमा नीति बनाउन तथा निर्णय गर्न मद्दत मिलेको बताउछन् । टोल फ्रिबाट प्राप्त सुझावका आधारमा कैयौं व्यवस्था गरिएको जानकारी दिंदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा लाभग्राहीसँगको दोहोरो संचार महत्वपूर्ण हुने बताए ।

टोल फ्रि हेल्पलाइनका फोकल पर्सन तथा पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार हालसम्म २५ हजार लाभग्राही तथा अन्य व्यक्तिले फोन गरेर यसको सेवा लिइसकेका छन् । यस सेवाबाट प्राधिकरणका नीति, निर्णयहरुको बारेमा जानकारी लिनेमात्र होइन निजी आवास निर्माणलगायतका पुनर्निर्माणका क्रममा आइपर्ने समस्या तथा गुनासाहरुको बारेमा उपाय खोज्न पनि सकिन्छ ।

हेल्पलाइन सेवाकी अपरेटर आस्था आचार्यका अनुसार हाल सबैभन्दा बढी फोन लाभग्राहीमा पर्नका लागि भरिएको गुनासोको नजितासँग सम्बन्धित छ । त्यसैपछि, क्रमशः अनुदानको किस्ता, प्राविधिक निरीक्षण, प्रशासनिक प्रक्रिया, बैंकिङ प्रक्रिया, जिल्ला परिवर्तन तथा जग्गाबारे बढी जिज्ञासा हुने गरेको छन् ।

हाल हेल्पलाइनमा दुई जना अपरेटर छन् । अफिस समयमा उनिहरु प्रत्यक्ष कुराकानी गरेर संभव भए तत्कालै जिज्ञसाको समाधान गर्छन् । प्राधिकरणका अधिकारीहरु सोध्नुपर्ने जिज्ञासा रहेछ भने सम्बन्धित अधिकारीलाई सोधेर कल ब्याक गर्छन् । अफिस समयभन्दा अन्य समयमा आएका टेलिफोन भने रेकर्डरमा संग्रहित हुन्छन् जसको अफिस खुलेपछि अपरेटरले सुनेर कल ब्याक गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ