arrow

सवारी साधनमा ह्वील लक, गणेश नेपालीको निधन र हामीले भोगेको मानसिक तनाव

logo
डा द्वारिकानाथ ढुंगेल,
प्रकाशित २०८३ असार ३२ बिहिबार
dwarikanath-dhungel-32-03-083.jpg.jpeg

हालै काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्वील लक लगाइएका कारण उत्पन्न परिस्थितिमा मुगु जिल्लाका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गर्दा उपचारका क्रममा निधन भएको समाचारले अत्यन्त मर्माहत बनाएको छ। उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। भविष्यमा कुनै पनि नागरिकले यस्ता पीडादायी परिस्थितिको सामना गर्न नपरोस् भन्ने कामना छ ।

गणेश नेपालीले भोग्नुपरेको जस्तो चरम अवस्था मेरो जीवनमा नआए पनि केही दिनअघि ह्वील लकका कारण मैले र मेरो परिवारले भोग्नुपरेको मानसिक तनावले यो घटनालाई झन् गम्भीर रूपमा महसुस गराएको छ। त्यस सन्दर्भमा सम्बन्धित निकायको निम्न बुँदामा ध्यानाकर्षण गराउन चाहन्छुः

१. परिवारका साथ म काठमाडौँ महानगरपालिका–१०, बानेश्वर, महादेवस्थान मार्गस्थित घर नं ३१९ मा बस्छु । हाम्रो घरको सटर अगाडि सडक अवरुद्ध नहुने गरी मोटर राख्न सकिने अवस्था छ। हाम्रो क्षेत्रमा केही घरधनीले आफ्ना घरअगाडि नो पार्किङ बोर्ड राखेका छन्, तर सार्वजनिक रूपमा पार्किङ निषेध गरिएको स्पष्ट सूचना वा संकेत कतै पनि राखिएबो छैन।

२. वि.सं. २०८३ असार २३ गते (७ जुलाई २०२६) पूर्वनिर्धारित समयअनुसार ललितपुरको कानदेवतास्थित नेत्रधाम आँखा अस्पतालमा मेरो बायाँ आँखाको शल्यक्रिया हुने कार्यक्रम थियो । छोराले मलाई अस्पताल लैजान सटर अगाडि राखिएको मोटर निकाल्न खोज्दा अगाडिको पाङ्ग्रामा ह्वील लक लगाइएको भेटियो। 

एकातिर अस्पतालले दिएको समय नजिकिँदै थियो, अर्कोतर्फ मेरो रक्तचाप बढ्न थाल्यो। परिवारका सबै सदस्य तनावमा परे । छोराले प्रहरीलाई सम्पर्क गरे । केही समयपछि प्रहरी आइपुग्नुभयो। मैले शल्यक्रियाको समय रहेको प्रमाण देखाएँ, घरअगाडि नै मोटर राखिएको र पार्किङ निषेधको स्पष्ट सूचना नभएको कुरा बताएँ । 

ह्वील लक लगाउनुअघि कम्तीमा जानकारी दिनुपर्ने होइन ? भन्ने प्रश्न पनि राखेँ। तर ती कुराले कुनै प्रभाव पारेन। छोराले आफ्नो अमेरिकी चालक अनुमतिपत्र देखाउँदा पनि स्वीकार गरिएन । अन्ततः म्याद सकिएर नवीकरणका लागि बुझाएको नेपाली चालक अनुमतिपत्रको रसिद सहित रु ५०० जरिबानाको पुर्जी काटिएपछि मात्र ह्वील लक खोलियो। 

हतार-हतार अस्पताल पुग्दा रक्तचाप बढिसकेको थियो । शल्यक्रिया नै स्थगित हुने हो कि भन्ने चिन्ता लागेको थियो। सौभाग्यवश शल्यक्रिया सम्पन्न भयो। तर त्यस दिनको मानसिक तनाव मेरो परिवारका लागि अत्यन्त पीडादायी रह्यो। पछि नेरु ५०० तिरेर कोटेश्वर प्रहरी वृत्तबाट लाइसेन्स फिर्ता ल्याउनु पर्यो । रकम ठूलो होइन तर कुनै गलत बिना पनि राज्यलाई दण्ड तिर्नु पर्यो ।

३. शल्यक्रिया गरेर घर फर्केपछि मैले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेजीसँग टेलिफोनमा सम्पर्क गरी घटनाबारे जानकारी गराएँ । उहाँले सहानुभूति व्यक्त गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशिल सिंह राठौरजीसँग कुरा गरिदिनुभयो। एआईजी राठौरजीले मलाई फोन गरी घटनाबारे जानकारी लिनुभयो। मैले उहाँसमक्ष स्पष्ट रूपमा प्रश्न राखेँ — कुन स्थानमा पार्किङ गर्न मिल्छ र कहाँ मिल्दैन भन्ने स्पष्ट सूचना दिनु पर्ने होइन ? सूचना नभएको अवस्थामा ह्वील लक लगाउनुअघि माइकिङ वा चेतावनी दिनु पर्ने होइन ? यदि आफ्नै घरअगाडि सवारी राख्न पनि अनुमति लिनु पर्ने हो भने वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिनु पर्दैन ? मेरो उपचारमा अवरोध सृजना र मानसिक तनावको जिम्मेवारी कसले लिने एआईजीपी साहेब ? भनेँ ।
 
एआईजीपी राठौरजीले नम्रतापूर्वक भन्नुभयो - सर केटाहरुले वस्तुस्थिति बुझिनुपर्ने हो, कोटेश्वरस्थित प्रहरी कार्यालयका प्रमुखसँग कुरा गर्छु ।

४. गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको निधनको समाचार सुन्दा अत्यन्त दुःख लाग्नुको साथै आफ्नै अनुभवले गर्दा उनले ग्नुपरेको मानसिक पीडा केही हदसम्म अनुमान गर्न सकेँ भन्न सक्छु । यद्यपि प्रत्येक व्यक्तिको परिस्थिति फरक हुन्छ, सार्वजनिक निकायका निर्णय र व्यवहारले नागरिकमा कस्तो मानसिक असर पार्न सक्छ भन्ने कुरा यस घटनाले गम्भीर रूपमा सोच्न सबैलाई बाध्य बनाएको हुनुपर्छ ।

५. गणेश नेपालीको आत्मदाहको स्थिति उत्पन्न हुनुको कारण सिंहदरबारभित्र मोटरमा ह्वील लक लगाउने कार्यको शुरूआतबाट हौसिएर गरिएको देखिन्छ । आश्चर्य लाग्दो कुरा सिंहदरबार भित्र नै सवारी साधन पार्किङको ब्यवस्था ठीक रहेनछ । स्मरण रहोस् हामीले काम गर्ने बेला सिंहदरबारमा सवारी पार्किङ स्थल निश्चित थियो । निश्चित स्थानमा पार्किङ गरिन्थ्यो । के किन सो प्रथा तोडियो र गृह मन्त्रालयले नै ह्वील लगाउने काम शुरूआत गर्नु पर्यो ?

६. गणेश नेपालीको आत्मदाहपछि गृहमन्त्री सुधन गुरुङजीले प्रतिनिधि सभामा दिएको भनाइ पनि केटाकेटीले झगडा गरेको जस्तो देखियो । उहाँले काठमाडौँ महानगरपालिका कसको नेतृत्वमा छ भनेर प्रश्न गर्नुको साटो नेपालीको असामयिक निधनमा दुःख ब्यक्त गरेर सिंहदरबारले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर मृतकका परिवारका विषय र कारण खोजिने छ भन्नुपर्ने हो । साथै काठमाडौँ महानगरपालिकाका प्रशासकीय प्रमुख र अन्य एक कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा केही घण्टा राखिएको भन्ने विषयमा गृहमन्त्री र काठमाडौं महानगरपालिकाका वर्तमान कार्यवाहक मेयरबीच टेलिफोनमा भएको भनिएको कुराकानीले गृहमन्त्रीलाई पाको सल्लाह दिने सिंहदरबारमा कोही रहेनछ भन्ने लागेको छ ।

७. काठमाडौँ महानगरपालिकाका प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाइनुको कारण बारेमा वास्तविकता बाहिर आउनै पर्छ, आउला पनि । तर महानगरपालिकाका प्रहरीले हाम्रो सुरक्षा नहुन्जेल बाहिर आउँदैनौँ भनेर धम्काउनु ठीक हो ? फेरि नयाँ सडक अस्तव्यस्त छ भनेर देखाउने गरी मोटरसाइकलको चाङ सार्वजनिक सञ्चार माध्यममा देखाइनु र संचारगृह तथा नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि मोटर राखेर ट्राफिक नियम पालना गराएकोमा विरोध गर्ने तिमी होइनौ भनेर देखाउने जस्ता बचकना कार्य भएको मैले कुनै राज्य सञ्चालनमा देखेको छैन । के हाम्रो देश केटाकेटीले गुच्चा खेले जस्तो गरी चल्न लागेको हो ? रास्वपा सभापति माननीय रवि लामिछानेले पस्ट्याइदिनु हुन्थ्यो कि !

८. काठमाडौँले धान्न नसक्ने गरी सवारी साधन सहरमा चल्दैछन् । फेरि काठमाडौँको जग्गाको भाउ आकासिएको छ । २/४ आनामा घर बनाउनु पर्ने स्थिति छ । यस्तोमा सवारी साधन घरबाहिर नै राख्नुपर्ने हुन्छ । केवल व्यवस्थित रूपमा राख्ने व्यवस्था सरकारले महानगरपालिकासँग सामन्वय गरी गर्नुपर्छ। यस्तो महत्वपूर्ण कुरा नबुझेर हालैमा बानेश्वर पूजा प्रतिष्ठान मार्गमा स्थानीय छरछिमेक मिलन केन्द्रको कार्यालय स्थापना कार्यक्रममा एक जना उपबुज्रुकजीले संयुक्त राज्य अमेरिकाको बोष्टन सहरमा सडकमा मोटर पार्किङ गरेको देखिन भनी गफ दिए । 

साथै हाम्रो क्षेत्रमा पनि ४ आनामा घर बनाउछन्, मोटर सडकमा पार्किङ गर्छन्, त्यसरी राखिएका सवारी साधनमा ह्वीललक लगाइदिन १० नम्बरका वडाध्यक्षसँग माग गर्दा ताली पाए । म भने मनमनै हासैँ । किनकि म बोस्टनमा विद्यार्थी भएर बसेको सडकमा ब्यवस्थित रूपमा पार्किङ गरेको देखेको छु । यसरी दिएको बकमफुसे कुरा सुनेको केही दिनमा गणेश नेपालीले आत्महत्या गरेको देख्नु पर्यो । पढनु पर्यो ।
 
सुधारको बाटो 

गणेश नेपालीको असामयिक निधनले एउटा गम्भीर प्रश्न हाम्रो सामु राखेको छ—के हामी कानून कार्यान्वयनलाई नागरिकप्रति उत्तरदायी र मानवीय बनाउन तयार छौँ ? यदि यो घटनाबाट पनि आवश्यक शिक्षा लिन सकेनौँ भने भविष्यमा यस्ता घटना दोहोरिन नदोहोरिने भन्ने कुनै निश्चितता रहने छैन।  

निम्न विषयमा सम्बन्धित निकायले तत्काल ध्यान दिनु आवश्यक छ:

पहिलो, काठमाडौं उपत्यकाभित्र पार्किङ निषेध गरिएका सबै स्थानमा स्पष्ट र देखिने गरी स्थायी सूचना बोर्ड राखिनुपर्छ। नागरिकले थाहा नै नपाउने ठाउँमा दण्ड दिने अभ्यास न्यायोचित मान्न सकिँदैन।

दोस्रो, ह्वील लक लगाउनुअघि सम्भव भएसम्म सम्बन्धित सवारीधनीलाई सूचना दिने वा माइकिङ गर्ने व्यवस्था हुनुपर्छ। सवारीले तत्काल सार्वजनिक आवागमनमा गम्भीर अवरोध नपुर्याएको अवस्थामा केही समयको अवसर दिन सकिन्छ।

तेस्रो, बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति वा आकस्मिक स्वास्थ्य उपचारमा जान लागेका नागरिकका हकमा परिस्थितिअनुसार विवेक प्रयोग गर्ने स्पष्ट कार्यविधि तयार गरिनुपर्छ। कानूनको सम्मानसँगै मानवीय संवेदनशीलताको पनि सम्मान हुनुपर्छ।

चौथो, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच पार्किङ व्यवस्थापनका सम्बन्धमा एउटै मापदण्ड र समन्वित कार्यप्रणाली लागू गरिनुपर्छ। फरक–फरक निकायका फरक अभ्यासले नागरिक अन्योलमा पर्छन्।

पाँचौँ, काठमाडौँ महानगरपालिकाले दीर्घकालीन पार्किङ गुरुयोजना तयार गरी सार्वजनिक पार्किङ स्थल विस्तारमा प्राथमिकता दिनुपर्छ। सवारीको संख्या निरन्तर बढिरहेको अवस्थामा दण्ड मात्र समाधान हुन सक्दैन।

छैटौँ, ह्वील लक लगाउने कर्मचारीलाई कानून कार्यान्वयनसँगै सार्वजनिक व्यवहार, संवाद शैली र संवेदनशील परिस्थितिको मूल्याङ्कनसम्बन्धी नियमित तालिम दिनु आवश्यक छ। राज्यको प्रतिनिधिले नागरिकसँग गर्ने व्यवहारले नै राज्यप्रतिको विश्वास निर्माण वा कमजोर बनाउँछ।

सातौँ, गणेश नेपालीको घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी त्यसबाट प्राप्त निष्कर्ष सार्वजनिक गरिनुपर्छ। 

यदि कार्यविधिमा कमजोरी देखिन्छ भने त्यसलाई सुधार्न कुनै ढिलाइ गर्नु हुँदैन। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रदान गरेको छ। 

प्रशासनिक संयन्त्रको उद्देश्य पनि त्यही अधिकारको संरक्षण गर्नु हो। कानूनको पालनामा कुनै सम्झौता हुन सक्दैन, तर कानून लागू गर्ने शैली नागरिकमैत्री र न्यायसंगत हुनुपर्छ। कानूनको कठोरता र मानवीय संवेदनशीलताबीच सन्तुलन कायम गर्न सकियो भने मात्र सुशासनप्रति जनविश्वास बलियो बन्छ।

गणेश नेपालीको असामयिक निधन एउटा परिवारको मात्र क्षति होइन, राज्य संयन्त्रलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनाउने दुःखद घटना पनि हो। उनको निधनबाट सम्बन्धित सबै निकायले आवश्यक शिक्षा लिउन्, नागरिकको मानसिक सुरक्षालाई पनि सार्वजनिक प्रशासनको अभिन्न अङ्गका रूपमा स्वीकार गरून्, र भविष्यमा कुनै पनि नागरिकले यस्तै पीडा भोग्न नपरोस् भन्ने अपेक्षासहित यो लेख टुङ्ग्याउन चाहन्छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ