हामी वन-जंगल जोगाउनु पर्छ भनेर रूखको सुकेको दाउरा टिप्न जाँदा जंगली जनावरबाट जंगल नजिकै बसोबास गर्ने हाम्रा नागरिक मारिएको समाचार पढेर मन दुःखाउछौँ।
हाम्रै वनबाट उत्पादन भएको अक्सिजनको स्वाद लिनेहरू बाहिर बसेर खित्का छोडेर हाँस्छन् अनि हामिलाई सिकाउँछन, वन मास्न हुँदैन है भनेर ।
हामीलाई उनीहरूले सिकाउँदा-सिकाउँदा हामी जंगली जनावरले धान्नै नसक्ने अवस्थामा पुग्यौँ । दैनिक जसो हाम्रा नागरिकहरू बाघको आक्रमणले मारिएका छन् र धेरै घाइते भैरहेका छन्। हामी मन दुःखाउँछौँ।
बाहिरबाट अक्सिजनको स्वाद पेटभरी लिनेहरू खित्का छोडेर हाँस्छन् मात्र। कहिल्यै हाम्रो वनले दिएको अक्सिजनको मूल्य तिर्न वास्ता गर्दैनन्। हाँस्छन् मात्र।
आज जंगलमा गैंडाको संख्या बढी भएर खाना खोज्दै बस्तीमा पसेर परेड खेलिरहेका छन्। हामी ती जनावरका लागि दाना पानी दिन्छौँ र तिनको आक्रमणका बेला भागेर ज्यान बचाउन दौडन्छौँ । कहिले बाँचियो भनेर हाँस्छौँ भने कहिले घाइते भएर तड्पिन्छौँ ।
हाम्रो जंगलबाट अक्सिजनको आनन्द लिनेहरू बाहिर बसेर खित्का छोडेर हाँस्छन् । कहिल्यै हाम्रो वनको अक्सिजनको मूल्य तिर्न तत्पर हुँदैनन्। हाँस्छन् मात्र ।
हात्ती मानव बस्ती पसेर हैरान पारेको पनि वर्षौँ भयो तर हाम्रा बस्तीका मानिसलाई हात्तीले लखेटेको दृष्य हेरेर बाहिर बसेकाहरू खित्का छोडेर हाँस्छन् । हाम्रो जंगलबाट लिएको अक्सिजनको मूल्य तिर्न कहिल्यै पहल गर्दैनन् ।
हामीलाई जंगल जोगाउन पर्छ अनि जंगली जनावरको संरक्षण गरेर उदाहरण पेश गर्न पर्छ भनेर पाठ सिकाउँछन्। बाहिरका कुरा सुनेर हामीले पत्याई दियौँ। आज बाघको आक्रमण बढेर गयो, हात्तीका बथानले कहिल्यै शान्तिसँग बस्न दिएन, त्यसमाथि गैँडाले खुलेआम परेड खेल्न शुरु गरिसक्यो। गाउँघर बाँदर आतङ्कले त्रसित छ ।
हाम्रा पूर्खा बाँदर हुन् र हामी उनैबाट विकसित हुँदै मानिस भयौँ भनेर सिकाइयो । हामीले पत्याई दियौँ । आज हाम्रा गाउँघर बाँदर आतङ्कका कारण बस्न नसकिने अवस्थामा पुग्यौँ। बाहिर बसेर हेर्नेहरू खित्का छोडेर हाँस्छन्।
बाहिरकाले कुनै पनि सहयोग नगरी जंगली जनावर संरक्षण गर्नमात्र हौस्याए । त्यसको नतिजा हामी आज जंगली जनावरसँग एक्ला एक्लै भिडेर बस्न बाध्य पारियो। आज बाघ, हात्ती, गैँडा अनि बाँदरले हामीलाई गाउँबाट लखेट्यो, कालान्तरमा परेवा र काग मिलेर हामीलाई सहरबाट लखेट्ने दिन नआउला भन्न सकिँदैन ।
तिनीहरू बाहिर बसेर हामीलाई हेर्दै हाँसिरहेका छन्। बाहिरबाट उनीहरू खित्का छोडेर हाँसे भनेर हाम्रै नागरिकले पीडा भोगेको अवस्थामा हामी पनि कहिलेकहीँ हाँस्ने गरेका छौँ ।
सरकार जंगल संरक्षण गरेर जंगली जनावर भने नियन्त्रण गर्दै जाने योजना बनाउन ढिला नगरौँ। ती हाम्रो अवस्था देखेर हाँस्नेहरूलाई महँगो मूल्यमा बाघ, हात्ती, गैँडा र सबैजसो बाँदर बेचेर वैदेशिक मुद्रा आर्जन गरौँ। अब हामी निःशुल्क अक्सिजन दिन पनि सकिँदैन, त्यसैले अक्सिजन बिक्री गरौँ। हामीलाई हेरेर हाँस्नेहरूसँग व्यापार गरेर हामी पनि हाँसौँ । तिनीहरू हाँसेर हामीलाई गिज्याइमात्र रहे। उनीहरू धेरै हाँसे ।