जनकपुर उच्च अदालतको कीर्तिमान, दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्यमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
198
Shares
जनकपुर। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। अदालतले निर्धारण गरिएको लक्ष्यको १०१.६० प्रतिशत प्रगति गर्दै लक्ष्यभन्दा बढी मुद्दा टुंग्याएको हो।
अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका दुई हजार २६७ र नयाँ दर्ता भएका चार हजार २४९ गरी कुल छ हजार ५१६ मुद्दा अदालतमा रहेका थिए। तीमध्ये चार हजार ६१९ मुद्दा फर्स्यौट गरिएको छ, जुन कुल मुद्दाको ७०.८८ प्रतिशत हो।
हाल अदालतमा एक हजार ८९७ मुद्दा मात्रै विचाराधीन अवस्थामा छन्। अदालतले पुराना मुद्दा फर्स्यौटलाई विशेष प्राथमिकतामा राख्दै रणनीतिक योजनाअनुसार कार्यसम्पादन गरेकाले १८ महिना तथा दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्यमा झार्न सफल भएको जनाएको छ।
चालु आर्थिक वर्षका लागि अदालतले चार हजार ५४६ मुद्दा फैसला गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर प्रभावकारी कार्यसम्पादनका कारण लक्ष्यभन्दा ७३ मुद्दा बढी अर्थात् चार हजार ६१९ मुद्दा फर्स्यौट गर्न सफल भएको हो।
उच्च अदालत जनकपुरले आगामी आर्थिक वर्षमा छ हजार ८२६ नयाँ मुद्दा दर्ता हुन सक्ने अनुमान गर्दै त्यसअनुसार न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।