मुलुक बचाउन सबै दल एकजुट बनौँ, संसद्ले निराशा होइन समाधान बाँडोस्: अमरेशकुमार सिंह
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
357
Shares
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा विद्यमान संकट समाधानका लागि सबै राजनीतिक दलहरूलाई एकजुट बनाउने काममा लाग्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन्। मङ्गलबार बसेका प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देश गम्भीर संकटमा रहेकाले दलगत स्वार्थभन्दा माथि उठेर साझा राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बेला आएको बताए।
सांसद सिंहले राजनीतिक दलहरूबीचको आपसी घोचपेच र संसद्भित्र गरिने निषेधको राजनीतिले नागरिकमा चरम निराशा पैदा गरेको उल्लेख गरे। संसद्बाटै 'यो देशमा केही हुन्न, बाँच्न सकिन्न' भन्ने नकारात्मक भाष्य निर्माण नगर्न प्रार्थना गर्दै उनले संसद्ले निराशा होइन, आशा र समाधान बाँड्नुपर्नेमा जोड दिए।
सभामुख डोलप्रसाद अर्याल र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गर्दै उनले भने, “राज्य, नागरिक र लोकतन्त्र रह्यो भने मात्र हामीले राजनीति गर्न पाउनेछौँ। सत्तापक्ष र प्रतिपक्ष स्थायी हुँदैनन्, हिजो सत्तामा हुनेहरू आज प्रतिपक्षमा छन् र आजका सत्तापक्ष भोलि प्रतिपक्षमा पुग्न सक्छन्। तर यदि जनता र लोकतन्त्र नै समाप्त भयो भने हामी कोही पनि रहनेछैनौँ।”
युवा, विद्यार्थीदेखि व्यवसायी र सर्वसाधारण नागरिकसम्म चौतर्फी निराशा छाएको भन्दै उनले सबै दलहरू मिलेर साझा एजेन्डा तय गरे मात्र राष्ट्र, संविधान र लोकतन्त्र जोगिन सक्ने जिकिर गरे। देश निर्माणको संकल्प बोकेर संसद्मा आएका हुनाले मुलुकको संविधान र व्यवस्था रक्षाका लागि पनि सरकारले नागरिकमा रहेको निराशा चिर्न तत्काल ठोस पहल गर्नुपर्ने उनको भनाइ थियो।