सरकार विकासमा भन्दा बढी विवादमा अल्झियो: सांसद राना
एक सय दिनमा जनसरोकारका विषयमा उदासीन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
290
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्दीप रानाले वर्तमान सरकार विकासका काममा भन्दा बढी विवादमा अल्झिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रानाले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै जनसरोकारका विषयमा सरकार पूर्ण रूपमा उदासीन रहेको बताए।
सांसद रानाले सरकारले १०० दिनमा १०० काम गर्ने प्रतिबद्धता जनाए पनि ती दिनहरू परिणाममुखी विकासभन्दा बढी राजनीतिक विवादमा बितेको टिप्पणी गरे। स्वास्थ्य क्षेत्रको विकराल समस्या औँल्याउँदै उनले अस्पतालहरूमा एन्टिरेबिज भ्याक्सिन र क्यान्सर जस्ता गम्भीर रोगका औषधिको चरम अभाव रहेको, नेप्से परिसूचक लगातार घटिरहेको र निजी क्षेत्र थप सशङ्कित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए। यस्तै, देशबाट युवा पलायनको क्रम नरोकिएको र बालबालिकामा कुपोषणको समस्या तीव्र गतिमा बढिरहेको प्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे।
सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले भने, “आज सुकुम्बासीहरू बिचल्लीमा छन्, किसानले समयमै मल पाएका छैनन्, र वर्षातका कारण ग्रामीण सडकहरू हिलाम्मे हुँदा बालबालिकालाई विद्यालय जान समेत कठिन भएको छ। तर यस्तो विपद्को समयमा पनि सम्बन्धित विभाग विगत तीन महिनादेखि नेतृत्वविहीन हुनु विडम्बनापूर्ण छ। राजदूत नियुक्ति राष्ट्रहितका लागि काम गर्ने गहन दायित्व हो, यसलाई विज्ञापन खोलेर पदपूर्ति गर्ने साधारण काम जस्तो बनाइनु हुँदैन।”
कूटनीतिक नियुक्तिहरूका सन्दर्भमा टिप्पणी गर्दै सांसद रानाले राजदूत नियुक्तिलाई सरकारले ‘जब भ्याकेन्सी’ को रूपमा बुझ्न नहुने स्पष्ट पारे। सरकारले आफ्नो विफलता र कमजोरी लुकाउन विगत ३५ वर्षमा देशमा केही पनि काम भएन भन्ने ‘गलत भाष्य’ निर्माण गर्न खोजेको आरोप समेत उनले लगाए।