काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै मुलुकभर बढ्दै गएको बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिँदै सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई तीव्रता दिन र सुरक्षित सवारी आवागमनको भरपर्दो व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
बैठकमा बोल्दै सभामुख अर्यालले भने, “यस वर्षको मनसुन सुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवम् सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।”