सञ्चार गृहमा दबाब, बाढी-पहिरो र सुकुमवासी समस्यादेखि जनजीविकाका मुद्दामा सांसदहरूको प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
255
Shares
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सांसदहरूले सञ्चार गृहमाथि भएको अवाञ्छित दबाब, बाढी-पहिरोको वितण्डा, वैदेशिक रोजगारीका समस्या र नागरिकका दैनिक जीवनसँग जोडिएका विविध मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुशासन र नागरिक सुरक्षाको प्रत्याभूति गर्न माग गरे।
सांसदहरू बलावती शर्मा, भरतबहादुर खड्का, मोहम्मद फिर्दोस आलम र रेनुका काउचाले स्थापित सञ्चार गृह र राजनीतिक नेतृत्वको निवास अगाडि नाटकीय रूपमा गाडी तेर्स्याएर आतङ्क सिर्जना गरिएको भन्दै कडा आपत्ति जनाए। सञ्चार जगत्लाई मनोवैज्ञानिक दबाबमा राख्ने यस्ता अराजक गतिविधि लोकतन्त्रका लागि घातक भएको उल्लेख गर्दै उनीहरूले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।
सांसद बलावती शर्मा, भीम कुमारी बुढा मगर र रेनुका काउचाले सुकुमवासी बस्तीमा भएको डुबान र उनीहरूको आवासको अधिकारबारे सरकारको ध्यानाकर्षण गराए। गणेश नेपालीको असामयिक निधन र सुकुमवासीहरूको बिचल्ली भएको विषयमा बोल्दै उनीहरूले राज्यले मानवीय संवेदनालाई कुल्चिने हर्कत गर्न नहुने बताए। त्यस्तै, सांसद रीमा विश्वकर्माले नागरिकको मानसिक स्वास्थ्य र आत्मदाहका पछिल्ला घटनाहरूप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन्।
सांसद बासना थापाले रुस–युक्रेन युद्धमा परेर बेपत्ता भएका प्रकाश विष्टलगायत नेपालीहरूको वास्तविक अवस्था सार्वजनिक गर्न र खोजी कार्य तीव्र बनाउन माग गरिन्। सांसद विश्वराज पोखरेलले ओखलढुङ्गालगायत देशका विभिन्न भागबाट वैदेशिक रोजगारीमा गएका युवाहरू ठगी र शोषणमा परेको भन्दै विदेशी भूमिमा आफ्ना नागरिकको सुरक्षा र सम्मान सुनिश्चित गर्न नेपाली दूतावासहरूलाई सक्रिय बनाउन आग्रह गरे।
सांसद विदुषी राणा र राधिका रामतेलले राइड सेयरिङ तथा डेलिभरी सेवामा कार्यरत श्रमिकहरूको कानुनी पहिचान, सामाजिक सुरक्षा र बीमा सुनिश्चित गर्न माग गरे। वर्षा र व्यस्त समयमा राइड सेयरिङ कम्पनीहरूले लिने अस्वाभाविक भाडा नियन्त्रण गरी पारदर्शी प्रणाली लागू गर्न उनीहरूले माग गरे। यसै गरी, सांसद रमेश प्रसाईँले घरभाडाको वैज्ञानिक मापदण्ड बनाई बहालमा बस्नेहरूको हित संरक्षण गर्न ध्यानाकर्षण गराए।
सांसद बुद्धिप्रसाद पन्तले वीरगन्जको प्राचीन सिर्सिया नदीमा उद्योगहरूको रासायनिक प्रदूषणका कारण आएको विकराल समस्याबारे बोले। यस्तै, सांसद बुद्ध रत्न महर्जन र रमेशकुमार मल्लले ललितपुर र सल्यानका विभिन्न क्षेत्रमा खानेपानी र विद्युतीकरणको समस्या तत्काल समाधान गर्न माग गरे।
सांसदहरू महेन्द्रबहादुर शाही, रुपेश रन्जित र भूमिका लिम्बू सुब्बाले वर्षायाममा हुने बाढी–पहिरो र सडक अवरोधले निम्त्याएको मानवीय सङ्कटप्रति सरकारको पूर्वतयारी शून्य रहेको भन्दै तत्काल उद्धार र राहतका लागि युद्धस्तरमा काम गर्न आग्रह गरे।
स्वास्थ्यतर्फ, सांसद मधुकुमार चौलागाईंले काभ्रेको खानीखोलामा स्वास्थ्य सेवाको अभावमा सुत्केरीले भोग्नुपरेको पीडा प्रस्तुत गरे भने सांसद रमेशकुमार सापकोटाले कर्णालीका स्वास्थ्य चौकीहरूको जीर्ण अवस्था सुधार्न माग गरे।
सांसद माधवबहादुर थापाले सरकारी गाडीको दुरुपयोग रोक्न र मर्मतका लागि प्रादेशिक महाशाखा स्थापना गर्न सुझाव दिए। त्यस्तै, सांसद राजिव खत्रीले ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षणमा हुने बिचौलियाको चलखेल र अवैध असुलीमाथि तत्काल छानबिन गर्न माग गरे।
बैठकमा सांसदहरूले जनसरोकारका यी जल्दाबल्दा विषयहरूमा सरकारले संवेदनशीलता नदेखाएको भन्दै संसद्मार्फत जवाफदेही बन्न अपिल गरे।