मलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको छ, अपराधी पत्ता लगाई कारबाही गरियोस्: ऐन महर
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
350
Shares
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसद्को गम्भीर ध्यानाकर्षण गराएका छन्। मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक महरले सामाजिक सञ्जाल र फोनमार्फत आफूलाई गोली हान्नेसम्मको धम्की आएको जानकारी दिएका हुन्।
सदनमा सम्बोधन गर्दै उनले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई नियोजित रूपमा निशाना बनाइएको बताए। महरले आफूलाई धम्की दिने व्यक्तिको विवरण समेत सदनमा सार्वजनिक गरे। उनका अनुसार 'पराजुली राम' नामको फेसबुक आईडीबाट उनलाई गोली हान्ने धम्की दिइएको छ।
बैठकमा आफ्नो पीडा पोख्दै उनले भने, “हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ। सरकारलाई सही बाटो देखाउन खोज्दा मलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको छ।”
त्यस्तै, 'पूर्णविक्रम क्षेत्री' नामक अर्का व्यक्तिबाट पनि आफूलाई भौतिक आक्रमणको धम्की आएको उनले बताए। यसरी जनप्रतिनिधिलाई सार्वजनिक रूपमै ज्यान मार्ने धम्की आउनु अत्यन्तै गम्भीर र संवेदनशील विषय भएको भन्दै उनले यसबारे सदन र गृह प्रशासनको ध्यानाकर्षण गराए। आफूहरू निरपेक्ष रूपमा सरकारको विरोधमा नरहेको तर जनसरोकारका विषयमा खरो रूपमा बोल्दा यस्ता धम्कीको सामना गर्नुपरिरहेको उनको भनाइ थियो।