बाढीले बगायो १२ चक्के ट्रक, चालकले पौडिएर जोगाए ज्यान
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
307
Shares
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले एक खाली ट्रक बगाएको छ। सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिकै खोला तर्ने क्रममा निर्माण गरिएको कल्भर्ट (ह्युमपाइप पुल) मा पानीको बहाव उच्च भएपछि उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार शिवम् सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक खोला क्रस गर्ने क्रममा बाढीको तीव्र वेगले बगाएको थियो। ट्रक बग्दा चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय चालक दीपक थिङ पनि ट्रकसँगै बगेका थिए। उनले पर्यत्नपूर्वक पौडिएर आफैँ खोला बाहिर निस्कन सफल भई ज्यान जोगाएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटना लगतै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा व्यवस्थापन कार्य गरेको थियो। घाइते चालक थिङलाई तत्काल उपचारका लागि हेटौँडा–चौघडास्थित राजु मेडिकलमा पठाइएको छ। खोलामा अन्य कुनै मानवीय क्षति नभएको र बाढीमा डुबेको ट्रकलाई क्रेन वा अन्य माध्यमबाट बाहिर निकाल्न पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षातको समयमा खोलाहरूमा आकस्मिक बाढी आउने भएकाले जोखिमपूर्ण अवस्थामा सवारी साधन नलडाउन प्रहरीले अनुरोध गरेको छ।