arrow

विश्वकपमा नर्वे र इङ्गल्याण्डको खेल जारी, अतिरिक्त समयको १५ मिनेट सकियो, इङ्गल्याण्ड अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
wcf-2026-eng-nor-extra-time1.jpg

काठमाडौँ । विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनल खेलमा अहिले अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नर्वे र  इङ्गल्याण्ड भिडिरहेका छन् । अतिरिक्त ३० मिनेटको खेलको पहिलो हाफ सकिँदा इङ्गल्याण्ड २-१ ले अगाडि रहेको छ । 

निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेले प्रारम्भिक अग्रता लियो । एन्द्रेस सिजएल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका हुन् । 

मध्यान्तरअघिको इन्जुरी समयको दोस्रो मिनेटमा जुड बेलिङघमले गोल गर्दै इङ्गल्याण्डलाई बराबरीमा ल्याए ।  

खेलको ५५ औँ मिनेटमा नर्वेको कर्नर किकमा टोर्बजोर्न हेगेमले गोल गरेका भए पनि भिडियो असिस्टेन्स रेफ्री (भीएआर) ले भने गोलअघि फाउल भएकाले गोल दिएको थिएन । 

त्यसपछि कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गयो । 

९३ औँ मिनेटमा बेलिङघमले उत्कृष्ट गोल गर्दै टिमलाई २-१ ले अग्रता दिलाए । उनको यो खेलमा दोस्रो गोल हो । 

९९ औँ मिनेटमा इङ्गल्याण्डले पेनाल्टी पाएको भए पनि भीएआर परीक्षणमा डी बक्सभित्र कुनै फाउल नदेखाएकाले पेनाल्टी खारेज गरिएको थियो । 

नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बनेको छ । उसले प्रिक्वार्टरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्रजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

ब्रजिल विरुद्धको खेलमा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले उत्कृष्ट दोस्रो गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ब्रजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि नर्वेले ऐतिहासिक जित निकाल्यो ।

थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्याण्डले प्रिक्वार्टरफाइनलमा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

१० खेलाडीमा सीमित भएर पनि इङ्गल्याण्डले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । जुड बेलिङ्घमले दुई गोल गरेका थिए भने ह्यारि केनले पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । 

सर्वाधिक गोलकर्ताको सूचीमा नर्वेका खेलाडी हालान्ड तेस्रो स्थानमा छन् । उनले ७ गोल गरेका छन् । त्यस्तै इङ्गल्याण्डका केनले ६ गोल गरेका छन् । 

त्यतिमात्र होइन दुवैतर्फ सन्तुलित टिम रहेको छ । जारी विश्वकपमा अहिलेसम्म अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले समान ८ गोल गरिसकेका छन् । 

अन्तिम क्वार्टरफाइनलमा आजै बिहान पौने ७ बजे अर्जेन्टिना र स्वीट्जरल्याण्ड खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ