arrow

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, स्वीट्जरल्याण्ड ३-१ ले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
wcf-2026-arg-swi-qf-win.jpg

काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । 

अमेरिकाको एरोहेड स्टेडियममा निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरी भएसँगै ३० मिनेटको अतिरिक्त समय थपिएकामा ११२ औँ मिनेटमा युलियन अल्भारेजले तथा इन्जुरी समयमा लाउटारो मार्टिनेजले सुन्दर गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याएका हुन् । 

यसअघि १० जनामा समेटिएको स्वीट्जरल्याण्डमाथि हावी हुन नसक्दा खेल निर्धारित ९० मिनेटसम्म १-१ को बराबरी भएको थियो । मध्यान्तरसम्म १-० ले अग्रता लिएको अर्जेन्टिनाले मध्यान्तरपछि गोल खाएको थियो । खराब डिफेन्सका कारण अर्जेन्टिनाले गोल खाएको हो । खेलको ६७ औँ मिनेटमा डान एनडोयेले रिकार्डो रोड्रिग्वेजको पासमा सुन्दर गोल गरेका हुन् । 

यसअघि खेलको १० मिनेटमै गोल गर्दै अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको थियो । लियोनल मेस्सीको कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेड गोल गरेका हुन् । उनको यो विश्वकपमा पहिलो गोल हो ।

यता खेलको ७२ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै स्वीट्जरल्याण्डका ब्रिल एमबोलो बाहिरिएका थिए । १० जनामा समेटिएको स्वीट्जरल्याण्डविरुद्ध अर्जेन्टिना खासै हावी हुन सकेन । 

यता लियोनल मेस्सी गोल गर्न चुकेका छन् । उनी जारी विश्वकपमा यसअघिका खेलमा गोल गर्दै आएमामा यो खेलमा गोल गर्न चुकेका हुन् । उनले जारी विश्वकपमा ८ गोल गरिसकेका छन् । फ्रान्सका केलियन एम्बाप्पेको पनि ८ गोल छ ।

साविक विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधि जितेर कीर्तिमान राख्न चाहन्छ । अर्जेन्टिना चौथो पटक विश्वकप जित्ने अभियानमा रहेको छ । चौथो पटक क्वार्टरफाइनल खेलेको स्वीट्जरल्याण्ड बाहिरिएको छ । 

योसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ । बिहान भएको क्वार्टरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराएको थियो । 

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन  भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ