इङ्गल्याण्ड विश्वकपको सेमिफाइनलमा, नर्वे २-१ ले पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
627
Shares
तस्बिर : इङ्गल्याण्डलाई जिताउन दुवै गोल गरेका जुड बेलिङघम ।
काठमाडौँ । इङ्गल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको तेस्रो क्वार्टरफाइनल खेलमा नर्वेलाई पराजित गर्दै इङ्गल्याण्ड अन्तिम चारमा पुगेको हो ।
अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलको १२० मिनेटको खेलमा इङ्गल्याण्ड २-१ ले विजयी भएको हो । इङ्गल्याण्डलाई जिताउन दुवै गोल जुड बेलिङघमले गरे ।
खेलको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेले प्रारम्भिक अग्रता लियो । एन्द्रेस सिजएल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाए ।
मध्यान्तरअघिको इन्जुरी समयको दोस्रो मिनेटमा जुड बेलिङघमले गोल गर्दै इङ्गल्याण्डलाई बराबरीमा ल्याए ।
खेलको ५५ औँ मिनेटमा नर्वेको कर्नर किकमा टोर्बजोर्न हेगेमले गोल गरेका भए पनि भिडियो असिस्टेन्स रेफ्री (भीएआर) ले भने गोलअघि फाउल भएकाले गोल दिएको थिएन ।
त्यसपछि कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गयो ।
९३ औँ मिनेटमा बेलिङघमले उत्कृष्ट गोल गर्दै टिमलाई २-१ ले अग्रता दिलाए ।
९९ औँ मिनेटमा इङ्गल्याण्डले पेनाल्टी पाएको भए पनि भीएआर परीक्षणमा डी बक्सभित्र कुनै फाउल नदेखाएकाले पेनाल्टी खारेज गरिएको थियो ।
योसँगै इङ्गल्याण्ड २-१ ले विजयी भयो ।
नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बने पनि इङ्गल्याण्डसँग पराजित भयो । उसले प्रिक्वार्टरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्रजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्याण्डले प्रिक्वार्टरफाइनलमा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
१० खेलाडीमा सीमित भएर पनि इङ्गल्याण्डले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । जुड बेलिङ्घमले दुई गोल गरेका थिए भने ह्यारि केनले पेनाल्टीमार्फत अर्को गोल थपेका थिए ।
सर्वाधिक गोलकर्ताको सूचीमा नर्वेका खेलाडी हालान्ड तेस्रो स्थानमा छन् । उनले ७ गोल गरेका छन् । त्यस्तै इङ्गल्याण्डका केन र बेलिङ्घमको समान ६ गोल छ । जारी विश्वकपमा अहिलेसम्म अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले समान ८ गोल गरिसकेका छन् ।
अन्तिम क्वार्टरफाइनलमा आजै बिहान पौने ७ बजे अर्जेन्टिना र स्वीट्जरल्याण्ड खेल्दैछन् ।