गणेश नेपाली प्रकरणमा गृहमन्त्रीको जवाफ - घाँटी सुकाएर कराउँदैमा जनताको सेवा हुँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
321
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा गणेश नेपालीको मृत्यु प्रकरणबारे जानकारी दिँदै उनले विपक्षी दलका सांसदहरूले सदनमा चर्को आवाज उठाए पनि घटनास्थल र अस्पतालमा पुगेर पीडितको साथमा कति जना पुगेका थिए भनेर प्रश्न गरे।
उनले जनताको सेवा संसदमा भाषण गरेर मात्र नभई घटनास्थलमै पुगेर गर्नुपर्ने बताए। सरकारले पीडित परिवारलाई सहयोग गर्ने र घटनाबारे आवश्यक समन्वय गरिरहेको उल्लेख गर्दै त्यसलाई स्टन्टबाजीको संज्ञा दिनु अनुचित भएको बताए।
गृहमन्त्री गुरुङले भने, “घाँटी सुक्नेगरी कराएर मात्रै जनताको सेवा हुँदैन। जनताको बीचमा पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ। हामी स्टन्टबाजी गर्न होइन, देशको सेवा गर्न सरकारमा आएका हौं।”
उनले आफूहरू देशलाई दुर्घटनामा जान नदिन जिम्मेवारीपूर्वक काम गरिरहेको दाबी गर्दै विपक्षी दलले सरकारको कामलाई अनावश्यक रूपमा आलोचना गरेको टिप्पणी गरे।
साथै, “जनताको सेवा गर्छु भनेर मुखले मात्र भनेको ५० वर्ष भइसक्यो, अब काम गरेर देखाउनुपर्छ,” भन्दै विपक्षी सांसदहरूप्रति कटाक्ष गरे।