arrow

नागरिकको ज्यान जोगाउन राज्य पूर्णतः असफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
basana-thapa-26-03.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्री बालेन्द्र साहमाथि संसदमै कडा प्रहार गरेकी छन्।

उनले घटनाप्रति प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै नागरिकको ज्यान जोगाउन राज्य पूर्णतः असफल भएको आरोप लगाइन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले एउटा युवाले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँदा पनि सरकार संवेदनशील बन्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन्।

उनले घाइतेको उद्धारमा समेत राज्य जिम्मेवार नदेखिएको आरोप लगाउँदै उपचारका लागि समयमै एम्बुलेन्स उपलब्ध नगराइएको दाबी गरिन्।

‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं, आज सरकारको नेतृत्वमा हुँदा ती प्रश्नको जवाफ दिन किन पछि हट्नुभएको छ?’ भन्दै उनले संसदबाटै प्रधानमन्त्रीसँग जवाफ मागिन्।

थापाले राज्यले पीडितलाई उद्धार गर्नुपर्ने ठाउँमा अपराधीसरह व्यवहार गरेको आरोप लगाउँदै भनिन्, ‘आगोले शरीर जलिरहेको थियो, तर राज्यले एम्बुलेन्स पठाएन। प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लगियो। यो उद्धार थियो कि गिरफ्तारी ?’

उनले गणेश नेपालीको घटनालाई एउटा व्यक्तिको मृत्यु मात्र नभई मुलुकका हजारौं युवाको निराशा र राज्यप्रतिको विश्वास संकटको प्रतीकका रूपमा चित्रण गरिन्।

‘उसको गल्ती यही थियो कि आफ्नै देशमा बसेर केही गर्ने सपना देख्यो। आज विदेशिन बाध्य भएका हजारौं युवाको मनमा पनि यही पीडा छ, फरक यति हो-सबैले विद्रोह गर्ने आँट गर्दैनन्,’ उनले भनिन्।

प्रमुख सचेतक थापाले सरकार नागरिकको सुरक्षा, सेवा र संवेदनशीलतामा चुकेको आरोप लगाउँदै यस्ता हृदयविदारक घटना किन दोहोरिरहेका छन् भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरिन्।

‘अब कालो चश्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसमा निलो रङ पोतेरमात्र नागरिकले सुरक्षा महसुस गर्दैनन्,’ भन्दै उनले सरकारलाई वास्तविक सुधारतर्फ लाग्न चुनौती दिइन्।

थापाले घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी कदम चाल्न सरकारसँग मागसमेत गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ