arrow

बालेन सरकार फासीवादतर्फ उन्मुख, लोकतन्त्र अपदस्थ भयो : केपी ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
kp-sharma-oli-24-13.jpg

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान बालेन सरकारमाथि लोकतन्त्रलाई कमजोर बनाउँदै फासीवादी शैलीतर्फ देशलाई धकेलिरहेको आरोप लगाएका छन्।

उनले सरकार गठन भएको सय दिनको मूल्याङ्कन गर्दै सुशासन, विकास र जनजीविकामा कुनै उपलब्धि हासिल गर्न नसकेको दाबी गरे।

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले वर्तमान राजनीतिक अवस्था लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अघि बढिरहेको बताए। उनका अनुसार सरकारको कार्यशैलीले लोकतन्त्रलाई अपदस्थ गर्दै अधिनायकवादतर्फको यात्रा शुरू गरेको छ।

ओलीले सरकारको सय दिनको कार्यकालको आलोचना गर्दै सुकुम्बासी बस्तीमा डोजर चलाइएको, गरिब तथा विपन्न नागरिक विस्थापित भएको र जनताको पीडाप्रति सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए।

उनले बजेट कार्यान्वयनमा समेत व्यापक अनियमितता भएको दाबी गर्दै सरकार विकासभन्दा प्रचारमा केन्द्रित रहेको टिप्पणी गरे।

उनले सरकारले नयाँ योजना अघि बढाउन नसकी एमाले नेतृत्वको सरकारले शिलान्यास गरेका आयोजनाको उद्घाटनमै सीमित भएको आरोप लगाए।

दैलेखको ग्यास उत्खनन परियोजना अझै अघि नबढाइनु सरकारको अकर्मण्यताको उदाहरण भएको उल्लेख गर्दै त्यसको व्यावसायिक उत्पादन सुरु भए दैनिक अर्बौँ रुपैयाँ आम्दानी हुने दाबी गरे।

ओलीले पछिल्ला आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन प्रभावकारी नभएको आरोप पनि लगाए।

घरमा आगजनी, तोडफोड र युवाको मृत्युजस्ता घटनामा वास्तविक दोषी पहिचान हुन नसकेको भन्दै उनले निर्दोष व्यक्तिलाई कारबाही गर्ने र दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले कानुनी शासनमाथि नै प्रश्न उठाएको बताए। कुनै अपराध नै प्रमाणित नभएका व्यक्तिलाई थुनामा राख्ने वा जरिवाना गर्ने प्रयास मानवअधिकार र विधिको शासनविपरीत भएको उनको भनाइ थियो।

सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि दबाब बढेको आरोप लगाउँदै ओलीले सरकारको आलोचना गर्नेहरू जेल जानुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे। “सरकारको आलोचना गर्दा होसियार हुनुपर्ने अवस्था आएको छ,” भन्दै उनले पत्रकारलाई समेत सरकारको मूल्याङ्कन आफैँ गर्न आग्रह गरे।

यसैबीच, उनले एमालेमा फर्किएका नेता देवी कार्कीलगायतलाई स्वागत गर्दै पार्टीलाई अझ बलियो बनाउने अभियान जारी रहने बताए।

एमाले कठिन परिस्थितिमा पनि नआत्तिने र राष्ट्र, लोकतन्त्र, सुशासन तथा विकासको पक्षमा दृढतापूर्वक अघि बढ्ने दाबी गर्दै उनले अहिले देशको संकट समाधान गर्ने क्षमता एमालेसँग मात्रै रहेको जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ