arrow

अस्पतालमा गणेशले दाइलाई भनेका थिए: बाबा-मम्मीलाई राम्रोसँग हेर्नुस्, मेरो गल्ती थिएन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
ganesh-nepali-kathhmandu.jpg

काठमाडौँ। वीर अस्पतालको आईसीयूमा जीवनको अन्तिम घडी गन्दै गरेका २५ वर्षीय गणेश नेपालीका ओठबाट निस्किएका केही शब्द अहिले उनका परिवारका लागि जीवनभर नमेटिने घाउ बनेका छन्।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनापछि उपचारका क्रममा निधन भएका गणेशले अन्तिम साससम्म आफू निर्दोष रहेको दाबी गरेको उनका दाइ मदन नेपालीले बताएका छन्।

शुक्रबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदनले भाइसँग भएको अन्तिम संवाद सुनाउँदा बारम्बार भक्कानिए। उनका अनुसार अस्पतालको शय्यामा पीडासँग संघर्ष गरिरहेका गणेशले सबैभन्दा पहिले आफ्ना बुबाआमाको चिन्ता गरेका थिए।

‘दाइ, बाबा-मम्मीलाई राम्रोसँग हेर्नुहोला...’ त्यसपछि उनले कमजोर स्वरमै फेरि भनेका थिए-‘दाइ... मेरो गल्ती थिएन... मेरो गल्ती थिएन...।’

मदनका अनुसार त्यही शब्द भाइसँगको अन्तिम संवाद बन्यो।

उनले सुनाएअनुसार घटनाअघिको साँझसम्म गणेशमा कुनै अस्वाभाविक व्यवहार देखिएको थिएन। काठमाडौँमा दुर्लभ मानिने खसीको खुट्टा ल्याएर पकाइदिन आग्रह गरेका उनी राति परिवारसँगै बसेका थिए।

बिहान आफूले बाइकको किस्ता तिर्नुपर्ने भएकाले काममा जान सम्झाएपछि उनी घरबाट निस्किएका थिए। कसैले कल्पना पनि गरेको थिएन, त्यो घरबाट उनको अन्तिम बिदाइ हुनेछ।

दिउँसो अचानक प्रहरीको फोन आयो। ‘तपाईंका मान्छे वीर अस्पतालमा हुनुहुन्छ, तुरुन्त आउनुस्।’ त्यो एउटा फोनले परिवारको जीवन नै बदलिदियो।

अस्पताल पुग्दा गणेशको शरीर गम्भीर अवस्थामा थियो। मदनका अनुसार भाइले ट्राफिक कार्बाही र ह्वील लकसँग सम्बन्धित विवादको संकेत गर्दै आफूले कुनै गल्ती नगरेको बताएका थिए। त्यसपछि उनको बोली विस्तारै बन्द भयो। केही घण्टापछि उनी सधैंका लागि मौन भए।

शरीरको करिब ६० प्रतिशत भाग गम्भीर रूपमा जलेका गणेश नेपालीलाई बचाउन चिकित्सकहरूले अथक प्रयास गरे। विशेषज्ञ टोलीको उपचार, शल्यक्रिया र भेन्टिलेटरको सहाराले पनि उनको जीवन जोगाउन सकेन।

गणेश अब यो संसारमा छैनन्। तर उनका अन्तिम शब्द-‘दाइ... मेरो गल्ती थिएन’-अहिले पनि परिवारको कानमा गुञ्जिरहेका छन्। ती शब्दसँगै एउटा प्रश्न पनि जीवित छ-उनी किन बारम्बार आफू निर्दोष रहेको बताइरहेका थिए? त्यसको जवाफ अब निष्पक्ष अनुसन्धानले मात्र दिन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ