सरकारका प्रवक्ता भन्छन्- सय दिनभित्रै देखिने गरी काम भएका छन्
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
154
Shares
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध भएर निरन्तर लागिपरेको दाबी गरेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको जिकिर गरे।
संसद्मा सरकारका उपलब्धिहरूको बचाउ गर्दै मन्त्री पोखरेलले वर्तमान सरकारले कार्यभार सम्हालेको सय दिनभित्रै विभिन्न क्षेत्रमा ठोस सुधारका सङ्केतहरू देखिएको दाबी गरे। सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता (जिरो टोलरेन्स), प्रशासनिक मितव्ययिता, योग्यताका आधारमा नियुक्ति (मेरिटोक्रेसी) र डिजिटल सेवा प्रवाहमा परिणाम देखिने गरी काम अगाडि बढाएको उनको भनाइ थियो।
बैठकमा बोल्दै उनले भने, "सय दिनभित्रै भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अगाडि बढेको छ। शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै लगिएको छ र यसलाई अझ दृढताका साथ अघि बढाइनेछ।"
प्रवक्ता पोखरेलले सरकारको ध्यान नागरिकलाई प्रत्यक्ष राहत र सुशासनको अनुभूति दिलाउनेतर्फ केन्द्रित रहेको स्पष्ट पारे। "नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्न नेपाल सरकार निरन्तर प्रतिबद्ध रहेको छ भन्ने कुरा म सबैलाई अवगत गराउन चाहन्छु," उनले थपे।
विशेष गरी सरकारी सेवा लिन सर्वसाधारणले झन्झट बेहोर्नु नपरोस् भन्नका लागि डिजिटल सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ठोस कदम चालिसकेको उनले संसद्लाई जानकारी दिए।