सुशासन सत्ता पक्षलाई लाग्दैन ? पहिला थुन्ने अनि जे पर्छ हेर्ने नियतिमा सरकार गयो: सांसद हमाल
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
308
Shares
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सरकारको सुशासनको नारा र नियतमाथि गम्भीर प्रश्न उठाउँदै "सुशासन सत्ता पक्षलाई लाग्दैन?" भनी प्रश्न गरेका छन्।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले प्रधानमन्त्री बालेन्द्र (बालेन) साहदेखि सत्तारुढ दलका कुनै पनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा उन्मुक्ति (छुट) दिएको भन्दै कडा आक्रोश व्यक्त गरे।
वर्तमान सरकारले जवाफदेहिता र पारदर्शिता केवल प्रतिपक्षी दलहरूसँग मात्रै खोजेर राजनीतिक प्रतिशोध साधिरहेको उनको आरोप थियो। सरकारले कानुनी राज्यको उपहास गर्दै विपक्षलाई विनाकारण पहिले थुन्ने र त्यसपछि मात्रै हेर्ने शैली अपनाएको भन्दै उनले कडा आपत्ति जनाए।
बैठकमा बोल्दै उनले भने, "सरकारका कतिपय गतिविधि प्रतिशोधपूर्ण हुन् कि भन्ने भान हुने गरी काम भइराखेको छ। आतङ्कित तुल्याउने गरी काम भइराखेको छ। हिजो कुरा उठेको थियो— पहिला थुन्ने अनि सुन्ने। तर मलाई त्यस्तो लाग्दैन, अहिले त पहिला थुन्ने अनि जे पर्छ हेर्ने नियतिमा सरकार गइरहेको छ।"
सांसद हमालले सुशासनको दुहाई दिने सरकार आफैँ पारदर्शी हुन नसकेको जिकिर गरे। कार्यपालिका प्रमुख र सत्तापक्षका नेताहरू कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उनले थपे, "यसले सुशासनको विषयमा गम्भीर प्रश्न उठाएको छ। सुशासन सत्ता पक्षलाई लाग्दैन? सरकार प्रमुखदेखि, सरकारमा रहेकादेखि, यो संसद्मा रहेकाहरू पारदर्शी हुनुपर्दैन? जवाफदेही हुनु पर्दैन? जवाफदेहिता अरूलाई मात्रै थोपर्ने हो?"
सम्बोधनको अन्त्यमा सांसद हमालले वर्तमान सरकार स्वतन्त्र रूपमा नभई कसैको इसारामा चलिरहेको भान भइरहेको टिप्पणी गर्दै यस्ता जनविरोधी र पूर्वाग्रही गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिए।