arrow

संसदीय सुनुवाइ समिति

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूमाथि दश दिनभित्र उजुरी दिन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
samsadiya-sunwai-samiti-083.jpg

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई जना आयुक्तहरूको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा शुरू गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भई आएका नामहरूमाथि संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। 

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो।

बैठकले प्रस्तावित तीनै जना विरुद्ध कुनै उजुरी वा गुनासो भए १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सर्वसाधारणले आगामी साउन ४ गतेसम्म उजुरी दिन सक्नेछन्। साउन ५ गते उजुरी खोल्ने र दुई दिन अर्थात् साउन ५ र ६ गते उजुरीको विस्तृत अध्ययन गरेर ७ गते पहिलो सुनुवाइ गर्ने समितिको तयारी छ। 

सभापति श्रेष्ठले उजुरी धेरै परेको खण्डमा अध्ययनका लागि थप समय लाग्न सक्ने र सोही अनुसार बैठकले निर्णय गर्ने जानकारी दिए। समितिले उजुरी आह्वानका लागि सरकारी सञ्चारमाध्यम र सङ्घीय संसद्को आधिकारिक विद्युतीय पोर्टलमा तत्काल सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशनसमेत दिएको छ।

संसदीय सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित र वस्तुनिष्ठ बनाउन समितिले ‘स्ट्यान्डर्ड टुल्स’ बनाउने भएको छ। यस पटक उजुरीमाथिको छलफलका क्रममा उजुरीकर्ताले आफ्नो तर्फबाट कुनै कानुन व्यवसायी लैजान नपाउने नियम बनाइएको छ। उजुरीकर्ता आफैँले समितिसमक्ष उपस्थित भएर उजुरीको औचित्यबारे ब्रिफिङ गर्नुपर्नेछ। 

तथापि अशक्त वा अपाङ्गता भएका उजुरीकर्ताको हकमा भने सहयोगका लागि एक जना सहयोगी साथमा लैजान पाउने व्यवस्था गरिएको सभापति श्रेष्ठले बताए। प्राप्त उजुरीहरूमाथि पर्याप्त छलफल र प्रस्तावित व्यक्तिहरूको योग्यता, क्षमता तथा कार्ययोजनाको सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ