सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुमवासीले बाँच्न पाउने कि नपाउने ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
207
Shares
काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले सरकारले सुकुमवासीहरूमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन्। बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सुकुमवासीहरूलाई सुरक्षित विकल्पविना सडकमा धकेल्ने सरकारी कदमले मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइन्।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सुकुमवासीहरूको बाँच्न पाउने नैसर्गिक अधिकार सुनिश्चित गर्न सरकारलाई सचेत गराइन्। सरकारको नीतिप्रति प्रश्न उठाउँदै उनले भनिन्, "सुकुमवासी जनता हुन् कि होइनन्? उहाँहरूले बाँच्न पाउने कि नपाउने? अनि उहाँहरूलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन? उहाँहरूले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हुन्छ कि हुन्न?" उनले अगाडि भनिन्, "यी गरिबका आँसु धेरै महँगा हुनेछन्, यस विषयमा सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।"
काँग्रेस सांसद हरिनादेवी कामीले जस्तै एमाले सांसद बरालले पनि कार्यपालिका प्रमुखको कार्यशैलीमाथि कडा प्रहार गरिन्। उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जनप्रतिनिधिहरूको साझा थलो संसद्लाई अपमान गरेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरिरहेको आरोपसमेत लगाइन्। सुकुमवासी व्यवस्थापन जस्तो संवेदनशील मुद्दामा प्रधानमन्त्री संसद् र जनताप्रति उत्तरदायी नभएको उनको भनाइ थियो।