arrow

प्रतिनिधि सभा

सभामुखले आवेशमा आएर माइक काट्नुभयो, शब्द नै सुन्नु भएन: सांसद राई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
rajendra-rai-ww.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले सभामुख डोलप्रसाद अर्यालले आवेशमा आएर आफूले बोल्दै गर्दा माइक काटेको गुनासो गरेका छन्।

बुधबार प्रतिनिधि सभाको पहिलो बैठकमा सांसद राईले ‘सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न?’ भन्दै अभिव्यक्ति दिन सुरु गरेपछि सभामुख अर्यालले माइक काट्दै बोल्न रोक लगाएका थिए। सोही विवादका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित समेत भएको थियो।

संसद्को दोस्रो बैठकमा पुनः बोल्ने समय पाएका सांसद राईले आफूले प्रयोग गर्न खोजेको शब्दको मर्म समेत सुन्न नपाई सभामुख अर्यालले आवेगमा आएर माइक काट्दा समस्या उत्पन्न भएको जिकिर गरे। यद्यपि, उनले सभामुख अर्यालप्रति आफ्नो सधैँ सम्मान र आदर रहेको कुरा भने दोहोर्‍याए।

बैठकमा स्पष्टीकरण दिँदै सांसद राईले भने, ‘सभामुखज्यू, तपाईंप्रति मेरो सम्मान र आदर छ। यत्रो जनताले चुनेर आएको सभामुख हो। तर मैले भाषा मिलाउन खोज्दै गर्दा, कुरा राख्न खोज्दै गर्दा र तपाईंले भनेको मान्न तयार हुँदाहुँदै माइक काटियो, त्यसो नगरेको भए राम्रो हुन्थ्यो। संसद्मा माननीयज्यूहरूले आफ्ना भावना राख्न पाउनुपर्छ, यो विधिभित्रै थियो।’

आफ्नो अभिव्यक्तिका कारण संसद् बैठक १५ मिनेट स्थगित भएकोमा संकोच मान्दै उनले आफूहरू सधैँ सत्य र सामाजिक न्यायको पक्षमा बोल्ने भएकाले आत्तिएर नभई विषयको गम्भीरता दर्शाउन खोजेको दाबी गरे। ‘मैले भनेको शब्द नै सुन्न नपाई सभामुखज्यूले माइक काटिदिनुभयो,’ उनले थपे, ‘कतिपय कुराहरू आवेगमा आउँदा पनि समस्या हुँदो रहेछ।’

संसद्‌मा आफ्नो भनाइ राख्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहमाथि संसद्प्रति उत्तरदायी नभई विधि मिचेको आरोप समेत लगाए। संसद्मा डाक्दा समेत प्रधानमन्त्री नआएकोमा आपत्ति जनाउँदै उनले सरकारको यस्तो गैरजिम्मेवारपनविरुद्ध आफूले दमदार ढङ्गले कुरा राख्न चाहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ