काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।
बैठकमा आफ्नो भनाइ राख्ने क्रममा मर्यादा नाघेर बोलेपछि संसद्मा केही बेर तनावको स्थिति सिर्जना भएको थियो।
बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सिधै सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै तिखो प्रश्न गरेका थिए।
सांसद राईको उक्त गैरमर्यादित अभिव्यक्तिप्रति तत्कालै आपत्ति जनाउँदै सभामुखले संसद्को गरिमा र मर्यादा कायम राख्न कडा आग्रह गरे।
सभामुखले सार्वभौम संसद् सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना कुराहरू संसद्को स्थापित मर्यादाभित्रै रहेर राख्न सचेत गराएका थिए।
सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न पटक-पटक आग्रह गरे पनि उनले अटेर गरेपछि सभामुखले त्यसपछि उनलाई आफ्नो भनाइ अघि बढाउने अनुमति (माइक उपलब्ध) दिएनन्।