विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ अन्तिम आठको खेल तालिका
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
842
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूर्ण रूपमा तयार भएको छ। अन्तिम-१६ का रोमाञ्चक खेलहरू सकिएसँगै अब विश्वकपको उपाधि दौडमा मात्र आठ टोली बाँकी रहेका छन्। अन्तिम-१६ को खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन जित निकाल्दै र स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
यसपटक फ्रान्स, स्पेन, इङ्ग्ल्याण्ड र अर्जेन्टिनाजस्ता परम्परागत दाबेदारहरूसँगै मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्याण्डले पनि पहिलो पटक विश्वकपको सुनौलो ट्रफी उचाल्ने आफ्नो सपना जीवित राखेका छन्।
पहिलो क्वार्टरफाइनल खेलमा साविक उपविजेता फ्रान्स र सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ। फ्रान्सका स्टार खेलाडी तथा कप्तान किलियन एमबाप्पे उत्कृष्ट लयमा छन्। विश्वकपमा हालसम्म १९ गोल गरिसकेका एमबाप्पेसँग यसै खेलमार्फत अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको २१ गोलको कीर्तिमानलाई पछ्याउने सुनौलो अवसर हुनेछ।
मोरक्को भने फ्रान्सलाई रोक्दै फेरि अर्को ठूलो उलटफेर गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यो खेल नेपाली समय अनुसार असार २६ गते बिहान १:४५ बजे बोस्टन स्टेडियममा सुरु हुनेछ।
दोस्रो क्वार्टरफाइनलमा सन् २०१० को विश्वविजेता स्पेनले बेल्जियमको सामना गर्नेछ। लामिन यामाल, पेड्री, गाभी, रोड्री र निको विलियम्सजस्ता युवा तथा सिर्जनशील खेलाडीहरूको प्रदर्शनमा भर परेको स्पेन आफ्नो उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ।
अर्कोतर्फ, बेल्जियम अनुभवी रोमेलु लुकाकु र केभिन डी ब्रुयनको नेतृत्वमा पहिलो पटक विश्वकप जित्ने दाउमा छ। स्पेनका गोलकिपर उनाइ सिमोनले प्रतियोगिताका पाँचै खेलमा 'क्लिन सिट' राखेकाले बेल्जियमका स्ट्राइकरहरूलाई गोल गर्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ। यो खेल असार २७ गते बिहान १२:४५ बजे लस एन्जलस स्टेडियममा खेलिनेछ।
तेस्रो क्वार्टरफाइनलमा नर्वे र इङ्ग्ल्याण्डबीचको प्रतिस्पर्धालाई सबैभन्दा रोमाञ्चक मानिएको छ। यो खेल मुख्य गरी दुई विश्वस्तरीय स्ट्राइकरहरूको लडाइँका रूपमा हेरिएको छ।
प्रतियोगितामा हालसम्म ७ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड र ६ गोल गरेका इङ्ग्ल्याण्डका कप्तान ह्यारी केनबीचको आक्रामक भिडन्त मैदानमा हेर्नलायक हुनेछ। इङ्ग्ल्याण्डका युवा स्टार जुड बेलिङ्घमले पनि ४ गोल गर्दै टोलीलाई बलियो साथ दिइरहेका छन्। यो खेल असार २८ गते बिहान २:४५ बजे मायमी स्टेडियममा सुरु हुनेछ।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले स्विट्जरल्याण्डको सामना गर्नेछ। अन्तिम–१६ मा इजिप्टविरुद्ध सुरुआती दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै सनसनीपूर्ण जित निकालेको अर्जेन्टिना उच्च मनोबलका साथ सेमिफाइनल नजिक पुग्ने लक्ष्यमा हुनेछ।
स्विट्जरल्याण्ड भने ७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेकाले इतिहास दोहोर्याउँदै अर्जेन्टिनालाई कडा चुनौती दिने तयारीमा जुटेको छ। यो खेल असार २८ गते बिहान ६:४५ बजे कान्सास सिटी स्टेडियममा आयोजना हुनेछ।