२०१६ को युरो कप जित्नु मेरा लागि विश्वकप ट्रफी जित्नुजत्तिकै विशाल हो : रोनाल्डो, मुख्य प्रशिक्षक मार्टिनेजले राजीनामा दिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
726
Shares
काठमाडौँ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकपको यात्रा ट्रफीबिनै टुङ्गिएकोमा गम्भीर दुःख व्यक्त गरेका छन्। विश्वकपको नतिजा सोचेजस्तो नभए पनि पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यलाई लिएर हतार र आवेगमा कुनै निर्णय नगर्ने उनले प्रष्ट पारेका छन्।
राउन्ड अफ–१६ को खेलमा स्पेनसँग १–० को नतिजा सुम्पिँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोनाल्डोले देशका लागि मैदानमा आफ्नो शतप्रतिशत दिएकाले मनमा कुनै पछुतो नरहेको बताए। "यसरी विश्वकपबाट बाहिरिनुपर्दा पीडा त हुन्छ नै, तर मेरो अन्तस्करण सफा छ," रोनाल्डोले भने, "यो मेरो अन्तिम विश्वकप थियो। अब केही समय परिवारसँग शान्त भएर बिताउनेछु र भविष्यबारे सोच्नेछु। भावनामा बगेर हतारमा कुनै निर्णय गर्नेछैन।"
आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको गौरवमय इतिहास स्मरण गर्दै रोनाल्डोले आफू टोलीमा आउनुअघि पोर्चुगलले कुनै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको तथ्य पनि अघि सारे। उनकै उत्कृष्ट कप्तानीमा पोर्चुगलले सन् २०१६ मा ऐतिहासिक युरो कप जित्नुका साथै दुई पटक युइएफए नेसन्स लिगको उपाधि चुमेको थियो। उनले अगाडि थपे, "म आउनुअघि पोर्चुगलसँग एउटै उपाधि थिएन। मेरा लागि २०१६ को युरो कप जित्नु विश्वकप ट्रफी जित्नुजत्तिकै विशाल हो।"
यसैबीच पोर्चुगल विश्वकपबाट बाहिरिए लगत्तै मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भने आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। प्रशिक्षक मार्टिनेजको बिदाइमा रोनाल्डोले उनी एक उत्कृष्ट रणनीतिकार र असल व्यक्ति भएको भन्दै प्रशंसा गरे। मार्टिनेजले पोर्चुगलको फुटबल विकासमा पुर्याएको योगदान अविस्मरणीय रहने उल्लेख गर्दै रोनाल्डोले उनको आगामी यात्राका लागि सुखद शुभकामना समेत व्यक्त गरे।