भारत र इन्डोनेसियाबीच २० ओटा सम्झौता, इन्डोनेसियाले भारतबाट ब्रह्मोस मिसाइल किन्ने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
671
Shares
जकार्ता । भारत र इन्डोनेसियाबीच २० ओटा सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार जकार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थतिमा भारत र इन्डोनेसियाबीच २० वटा सम्झौतामा हस्ताक्षर भएको हो ।
सबैभन्दा महत्त्वपूर्ण सम्झौतामा ब्रह्मोस मिसाइल सम्झौता हो । जुन विगत चार महिनादेखि छलफलमा थियो। भारतले इन्डोनेसियालाई ब्रह्मोस मिसाइलको थप एकाइ प्रदान गर्नेछ। यससँगै, फिलिपिन्स र भियतनामपछि इन्डोनेसिया ब्रह्मोस मिसाइल खरिद गर्ने तेस्रो देश बनेको छ।
इन्डोनेसियाले अपरेशन सिन्दूरमा प्रयोग गरिएको भारतीय 'अस्त्र' एयर-टु-एयर मिसाइल पनि खरिद गर्ने निर्णय गरेको छ । भारतले इन्डोनेसियाको लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) विकास गर्न पनि मद्दत गर्नेछ।
प्रधानमन्त्री मोदीले इन्डोनेसियाको अर्थतन्त्र विगत केही दशकहरूमा द्रुत गतिमा बढेको बताउँदै भारत आज विश्वको सबैभन्दा द्रुत गतिमा बढिरहेको अर्थतन्त्रहरू मध्ये एक भएको उल्लेख गरे । उनले भने, 'मलाई विश्वास छ कि हामी भारत-इन्डोनेसिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने छौँ। दुवै देशले आ-आफ्नो लक्ष्यहरू प्राप्त गर्न एकअर्कालाई पूरक बनाउन सक्छन्।'
मोदीका अनुसार भारत र इन्डोनेसिया बीचको व्यापार पछिल्लो दशकमा २५ अर्ब डलर पुगेको छ। प्रधानमन्त्री मोदीले भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र, लोकतन्त्रको जननी भएकफ इन्डोनेसिया विश्वको तेस्रो ठूलो लोकतन्त्र भएको देश रहेकोसमेत उल्लेख गरे ।
यस्ता छन् २० ओटा सम्झौताहरूः
१ खनिज र इस्पातमा सम्झौता ।
२ समुद्री सुरक्षा सहयोग ।
३ रेयर अर्थ मिनिरल्स सहयोग ।
४ ब्रम्होस मिसाइल सम्झौता ।
५ अस्त्र मिसाइल सहयोग ।
६ दुवै देश मिलेर स्टेनलेस स्टिल बनाउने ।
७ अन्तरिक्ष सहयोग ।
८ मन्दिर संरक्षणमा भारतले मद्धत गर्ने ।
९ कृषि सम्झौता।
१० चिकित्सा उत्पादन सम्झौता ।
११ आपत्कालीन प्रबन्धन सम्झौता ।
१२ दूरसञ्चार सहयोग ।
१३ अनुसन्धान र स्टार्टअपमा सहयोग आदानप्रदान ।
१४ स्वास्थ्य सहयोग।
१५ समुद्री गतिविधिसँग जोडिएको सुरक्षा सहयोग ।
१६ गहुँको बिउ आपूर्ति ।
१७ दुवै देशबीच वर्षैभर सांस्कृतिक र शैक्षणिक कार्यक्रम 'टैगोर-देवन्तरा वर्ष'
१८ इन्डोनेसियामा आईआईएम बेंगलुरूको क्याम्पस खुल्ने ।
१९ दुवै देशबीच ई-कमर्श र डिजिटल व्यापार ।
र २० चुनाव गराउन सहयोग । भारतले इन्डोनेसियालाई इलेक्ट्रोनिक भोटिङ मेशिन दिने ।
इन्डोनेसिया भ्रमणका क्रममा मोदीलाई त्यहाँकै सर्वोच्च सम्मानः
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाले सर्वोच्च सम्मान प्रदान गरेको छ । इन्डोनेसिया भ्रमणका क्रममा राष्ट्रपति प्रबोवो सुबियान्तोले प्रधानमन्त्री मोदीलाई "इन्डोनेसिया गणराज्यको बिनताङ आदिपूर्णा" पदक प्रदान गरेका हुन् । यो इन्डोनेसियाको सर्वोच्च नागरिक पुरस्कार हो।
सो सम्मान ग्रहण गर्दै मोदीले खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'आज बिहान, धेरै माया र सम्मानका साथ, मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान गरियो। यो सम्मान लाखौँ भारतीयहरूको हो। यसले इन्डोनेसियाली जनताको भावना र हाम्रा दुई देशहरू बीचको ऐतिहासिक, गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।'
उनले छलफलका क्रममासमेत दुई देशबीचको व्यापारक साझेदारी उचाइमा पुगेको बताएका छन् । उनले भने, 'पछिल्ला वर्षहरूमा भारत-इन्डोनेसियाली सम्बन्धले नयाँ ऊर्जा, विश्वास र गहिराइ प्राप्त गरेको छ । २०१८ मा शुरू गरिएको हाम्रो 'व्यापक रणनीतिक साझेदारी' अब नयाँ उचाइमा पुगिरहेको छ। हामी सबै क्षेत्रहरूमा महत्त्वपूर्ण कदम चालिरहेका छौँ ।'
मोदीलाई अहिलेसम्म ३५ देशले सम्मान गरिसकेका छन् । विश्वका कुनै पनि नेताले हासिल गरेको यो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सम्मान हो ।
यसअघि उनलाई यसै वर्ष स्वीडेन, नर्वे, स्लोभाकिया र सेशेल्सले उक्त देशको सर्वोच्च सम्मान प्रदान गरेका थिए ।
यसबाट पनि स्पष्ट हुन्छ कि मोदी विश्वमै थप शक्तिशाली बन्दै गएका छन् । अन्य देशका चर्चित नेताहरू कुनै न कुनै विवादमा अल्झिरहँदा मोदी भने थप शक्तिशाली बन्दै गएका हुन् ।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि निरन्तर पकड जमाइरहेका मोदी विश्वकै सबैभन्दा चर्चित नेताको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएका छन् ।
उनले पहिलो चरणमा सन् २०१६ देखि २०२० सम्म साउदी अरेबिया, अफगानिस्तान, प्यालेस्टाइन, संयुक्त राष्ट्र संघ, दक्षिण कोरिया, माल्दिभ्स, यूएई, बहराइन, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन र अमेरिका गरी १० देश तथा उच्च संस्थाहरूले सम्मान गरेका थिए ।
दोस्रो चरणमा सन् २०२१ देखि २०२३ सम्म उनी पपुवा न्यूगिनी, फिजी, इजिप्ट, फ्रान्स र इजिप्ट गरी पाँच देशबाट उच्च सम्मानसहित सम्मानित भए ।
तेस्रो चरणमा सन् २०२४ मा उनले भुटान, रूस, गुयाना, डोमिनिका, नाइजेरिया र कुवेत गरी ६ देशबाट सर्वोच्च सम्मान पाए ।
चौथो चरणमा मोदीले सन् २०२५ र २०२६ को शुरूआतमा बार्बाडोस, मौरिसस, साइप्रस, घाना, ट्रिनिडाड एन्ड टोबागो, ब्रजिल, अर्जेन्टिना, नामिबिया र ओमान गरी ९ देशबाट सम्मानित भए ।
त्यस्तै पाँचौँ चरणमा सन् २०२६ को हालैको युरोप भ्रमणका क्रममा मोदी स्वीडेन, नर्वे, स्लोभाकिया, सेशेल्स र इन्डोनेसियाबाट उच्च सम्मान हासिल गर्न सफल भएका छन् ।