arrow

स्पेनमा तातो लहरको ताण्डव: जुलाईको शुरूआतमै डेढ सयभन्दा बढीको मृत्यु

डढेलोले ५६ हजार हेक्टर वन ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
hot-day-children-2024.jpg

काठमाडौँ । स्पेनमा यस वर्षको दोस्रो चरणको घातक तातो लहर (लु) शुरु भएसँगै जुलाई महिनाको पहिलो केही दिनमै गर्मीका कारण डेढ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। स्पेनको स्वास्थ्य मन्त्रालय अन्तर्गतको दैनिक मृत्युदर निगरानी प्रणालीले सोमवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अत्यधिक बढ्दो तापक्रम र तातो हावाका कारण यी हताहती भएका हुन्।

यसअघि जुन महिनामा मात्रै गर्मीकै कारण १ हजार २९ जनाले ज्यान गुमाएका थिए। यो सङ्ख्या सन् २०१५ मा मृत्युदर निगरानी प्रणाली शुरु भएयताकै सबैभन्दा उच्च मासिक मृत्युदर हो। लगातारको खडेरी र कीर्तिमानी तापक्रमका कारण देशको जनजीवन नराम्ररी प्रभावित भएको छ।

गर्मीसँगै स्पेनका विभिन्न भूभागमा भीषण डढेलो सल्किएका कारण अग्निनियन्त्रकहरूलाई नियन्त्रणमा लिन हम्मे–हम्मे परेको छ। विशेष गरी ला बिसबल डि’एम्पोर्डा क्षेत्रमा लागेको डढेलोले पर्यावरणका दृष्टिले महत्त्वपूर्ण मानिएको संरक्षित ‘लेस गाभारेस’ क्षेत्रको करिब २ हजार २०० हेक्टर जमिन नष्ट गरिसकेको छ। अधिकारीहरूका अनुसार उक्त डढेलोको फैलावट करिब ४० किलोमिटरको घेरामा पुगेको छ।

युरोपेली वन डढेलो सूचना प्रणालीको उपग्रह (स्याटेलाइट) मा आधारित अनुमानअनुसार स्पेनमा यस वर्ष हालसम्म डढेलोका कारण मात्रै करिब ५६ हजार हेक्टर वन क्षेत्र सखाप भइसकेको छ। मौसमविद्हरूले तातो हावा चल्ने क्रम जारी रहने र खडेरी अझै लम्बिने भएकाले डढेलो र जनधनको जोखिम अझै बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ