arrow

युएई सरकारले १११ नेपाली कैदीबन्दीलाई दियो आममाफी

नेपाल सरकारद्वारा कृतज्ञता व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
nepal-uae.png

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ।  ईद अल-अधा २०२६ को  अवसरमा युएई सरकारले त्यहाँका विभिन्न कारागारमा रहेका १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएको हो। युएई सरकारको यस सदाशयपूर्ण कदमप्रति नेपाल सरकारले विशेष कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको यो निर्णयलाई नेपाल र युएईबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, गहिरो मित्रता र हार्दिकताको बलियो अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालयको विशेष निर्देशन अनुरूप आबुधाबीस्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीहरूको रिहाइका लागि युएई सरकारसँग निरन्तर समन्वय र अनुरोध गरेको थियो। सोही अनुरोधको सकारात्मक प्रत्युत्तरस्वरूप युएईले यो आममाफीको निर्णय गरेको हो।

मन्त्रालयका अनुसार शाही आममाफी पाएका नेपाली नागरिकहरू युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्। यद्यपि, उनीहरूमाथि अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) नभएको अवस्थामा मात्र यो फिर्ती प्रक्रिया सहज हुने विज्ञप्तिमा स्पष्ट पारिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ