arrow

प्रतिनिधि सभा

कर्णाली राजमार्ग 'मृत्युमार्ग' बनेको भन्दै संसद्‌मा आक्रोश

के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
karnali-aakrosh-ss.jpg

काठमाडौँ । कर्णाली क्षेत्रको दयनीय सडक पूर्वाधार र पछिल्लो समय दैलेखमा भएको सवारी दुर्घटनालाई लिएर प्रतिनिधि सभाको बैठकमा सरकारको तीव्र आलोचना भएको छ। सोमबारको बैठकमा सांसदहरूले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत हुँदा पनि राज्य उदासीन बनेको भन्दै आक्रोश व्यक्त गरे।

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको लामो समय बित्दा समेत राज्यका तर्फबाट आधिकारिक विवरण आउन नसक्नु खेदजनक रहेको बताइन्। प्रधानमन्त्रीको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठूलो खाडल रहेको उनको टिप्पणी थियो।

संसद्‌मा बोल्दै प्रमुख सचेतक थापाले प्रश्न गरिन्, "कर्णालीका सडकमा दिनहुँ रगत बगिरहेको छ, नागरिकहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न विवश छन्। हामी राजधानीमा सुविधासम्पन्न तारे होटलमा बसेर ‘आहा! कर्णाली त स्वर्ग हो’ भनेर भाषण गर्छौँ। हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई ‘स्वर्गकी रानी, कर्णालीकी सुइना (सपना)’ भनेर सम्बोधन गर्नुभयो। तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिएको छ?"

थापाले यसलाई केवल संयोग वा दुर्घटना मात्र मान्न तयार नरहेको बरु राज्यको चरम लापरबाही र बेवास्ताको परिणाम भएको जिकिर गरिन्। उनले तत्काल उद्धार कार्यलाई तीव्र बनाउन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले पनि कर्णाली राजमार्गको जीर्ण अवस्थाप्रति सरकारको ध्यान खिच्दै आपत्ति प्रकट गरिन्। दैलेखमा दुर्घटना भएको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहनुले राज्यको उद्धार कार्य कति फितलो छ भन्ने छर्लङ्ग पारेको उनको भनाइ थियो।

सांसद बरालले संसद्‌मा भनिन्,"अहिलेसम्म न सास भेटिएको छ, न लास। कर्णालीका जनता सधैँ राज्यको बलिका रूपमा रहनुपर्ने स्थिति कहिलेसम्म रहन्छ? प्रधानमन्त्रीज्यूले ‘मेरा सुइना, कर्णालीका सुइना’ भन्दै फोटोमा रमाइरहँदा त्यहाँका जनताले दैनिक मृत्युसँग जुध्नु परिरहेको छ। हामी सरकारसँग अधिकार खोज्न आएका हौँ, भिख मागेका होइनौँ।"

हेलिकप्टरमार्फत प्रभावकारी खोजतलासका लागि आग्रह गर्दा पनि पुरानो प्रविधि र न्यून जनशक्ति मात्र परिचालन गरिएको भन्दै उनले असन्तुष्टि जनाइन्। उनले कर्णालीका बासिन्दालाई सुरक्षित रूपमा हिँडडुल गर्ने वातावरण सुनिश्चित गर्न र सडक पूर्वाधारमा ठोस सुधार ल्याउन सरकारसँग माग गरिन्। साथै, सोही दुर्घटनामा ज्यान गुमाएका जोखे तिरुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता अन्य चार जनाको शीघ्र खोजीका लागि उनले सदनमार्फत सरकारसँग जोडदार माग गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ