प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट कहिले हट्छ ?: प्रमुख सचेतक आर्यन राई
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
282
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्री बालेन्द्र साहले दिएको एक अभिव्यक्तिलाई 'राष्ट्रघाती' को संज्ञा दिँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गरिरहनुपर्ने हो भन्दै सभामुखको गम्भीर ध्यानाकर्षण गराए।
बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक राईले प्रधानमन्त्री साहले 'नेपालले पनि भारतको भूमि मिचेको छ' भनी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको आरोप लगाए। उनले राष्ट्रियताको सवालमा आफ्नो पार्टीले १ इन्च पनि सम्झौता नगर्ने अडान स्पष्ट पारे।
संसद्को रोस्टमबाट सभामुखलाई प्रश्न गर्दै राईले भने, ‘सभामुख महोदय, प्रतिनिधि सभा नियमावली २०८३ को नियम ५६ लाई हामीले कार्यान्वयन गर्ने कि नगर्ने? यो प्रश्न सोध्न चाहन्छु। र अर्को, हामीले कहिलेसम्म प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो, म त्यो सोध्न चाहन्छु। के एक वर्ष, दुई वर्ष, ५ वर्ष? हामी तयार छौँ। राष्ट्रियताको सवालमा १ इन्च तलमाथि हामी सर्दैनौँ सभामुख महोदय। त्यसैले प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति उहाँ आफैँले यस सम्मानित सदनको रोस्टममा आएर सच्याउनुपर्छ।’
आफ्नो सम्बोधनका क्रममा प्रमुख सचेतक राईले राष्ट्रियताको मुद्दाका साथै शिक्षा क्षेत्रको समस्यालाई पनि उठाएका थिए। उनले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले भोग्दै आएका विद्यमान समस्याहरूलाई तत्काल सम्बोधन र समाधान गर्न सरकारसँग जोडदार माग गरे।