घ्यूको नाममा केमिकल बेच्ने उद्योगलाई ५० हजार जरिबाना
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
361
Shares
पोखरा। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षामा गम्भीर लापर्बाही भेटिएपछि पोखरामा सञ्चालनमा रहेको जेनिसा केमिकल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
‘घीउ’का रूपमा बिक्री भइरहेको पदार्थमा उपभोक्ताको स्वास्थ्यमा असर पार्ने केमिकल प्रयोग गरिएको भेटिएपछि जिल्ला अनुगमन समिति, कास्कीले कारबाही गरेको हो।
पोखरा-१७ घारीपाटनस्थित उद्योगमा बिहीबार गरिएको अनुगमनका क्रममा घीउजस्तो देखिने फ्लेवरयुक्त तीन-चार कार्टुन पदार्थ बरामद गरी नष्ट गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
अनुगमन टोलीले उद्योगको बिक्री वितरण तत्काल रोक्का गर्दै सञ्चालक रेशम सुवेदीलाई आवश्यक कागजातसहित सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
उही क्षेत्रमा रहेको विजय फ्रेस बेकरी उद्योगलाई पनि सरसफाइको अभाव, उद्योग नवीकरण नगरेको तथा लेबलविहीन खाद्यवस्तु बिक्रीका लागि राखेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
उद्योगलाई पूर्ण सरसफाइ नगरेसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ भने सञ्चालक सोमनाथ अधिकारीलाई सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ।
यस्तै, हिमालय आँखा अस्पतालको क्यान्टिनमा गरिएको अनुगमनका क्रममा सरसफाइ सुधार गर्न र म्याद गुज्रिएका खाद्य सामग्री हटाउन निर्देशन दिइएको छ। एसआर प्याकेजिङबाट बरामद गरिएको घीउजस्तो पदार्थ पनि नष्ट गरिएको छ।
सेलवेज डिपार्टमेन्टल स्टोर्समा पनि म्याद सकिएका खाद्य सामग्री फेला परेपछि ती वस्तु नष्ट गरिएको छ भने स्टोर्स सञ्चालकलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार बिहीबार मात्रै पोखराका १६ ओटा उद्योग, पसल तथा व्यवसायमा अनुगमन गरिएको थियो।
अनुगमनमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च कास्की तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
पछिल्ला दिनमा खाद्यवस्तुमा मिसावट, म्याद गुज्रिएका सामग्रीको बिक्री तथा सरसफाइमा लापर्बाहीका घटना बढ्दै गएका बेला पोखरामा गरिएको यो अनुगमनले बजारमा गुणस्तरहीन र उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यवसायप्रति प्रशासन कडा रूपमा प्रस्तुत भएको संकेत गरेको छ।