जाइकाको अर्बौंको आयोजना अपुग, लेकसाइडमा खानेपानीको चरम संकट
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
183
Shares
फाइल तस्बिर
पोखरा। पर्यटकीय केन्द्र लेकसाइडमा चर्किएको खानेपानी अभावप्रति होटल व्यवसायीले गम्भीर चिन्ता व्यक्त गर्दै समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखरा नेपालको एक टोली शुक्रबार नेपाल खानेपानी संस्थान, पोखरा पुगेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।
व्यवसायीका अनुसार पर्यटनको राजधानी मानिएको पोखराको प्रमुख पर्यटकीय क्षेत्रमा दैनिक खानेपानीको अभाव हुनु विडम्बनापूर्ण अवस्था हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब चार अर्ब ८१ करोड रुपैयाँको लगानीमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आए पनि अपेक्षित रूपमा पानी आपूर्ति हुन नसकेको उनीहरूको गुनासो छ।
होटल संघ पोखरा नेपालका सल्लाहकार परिषद् संयोजक भरतराज पराजुलीले आयोजना निर्माणका क्रममा पोखरामा कम्तीमा २० वर्षसम्म खानेपानीको समस्या नहुने दाबी गरिए पनि अहिले व्यवसायी र सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको बताए।
‘व्यवसाय सञ्चालन गर्न हरेक दिन ट्यांकरको पानी किन्नुपर्ने अवस्था छ,’ उनले भने, ‘पर्यटकीय राजधानी भनिने शहरमा आधारभूत आवश्यकता नै पूरा नहुनु दुःखद हो।’
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले खानेपानी अभावको वास्तविक कारण बुझ्न संस्थानसँग छलफल गरिएको बताए। उनका अनुसार संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले मर्दीखोलाबाट पोखरासम्म पानी ल्याउने मुख्य पाइपको क्षमता सानो भएकाले पर्याप्त आपूर्ति गर्न नसकिएको जानकारी दिएका थिए।
पराजुलीका अनुसार ठूलो लगानीमा आयोजना सम्पन्न भए पनि वितरण प्रणालीको मुख्य पूर्वाधार कमजोर हुँदा समस्या समाधान हुन सकेको छैन।
उनले संस्थानका प्राविधिकले समेत ठूलो क्षमताको पाइप विस्तारका लागि सरकारसँग पहल गरिदिन व्यवसायीलाई आग्रह गरेको बताए।
खानेपानी संकट समाधानका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले तत्काल आवश्यक बजेट विनियोजन गरी मुख्य पाइप विस्तारको काम अघि बढाउनुपर्ने व्यवसायीको माग छ।
पराजुलीले मेयर र मुख्यमन्त्रीले यस विषयलाई प्राथमिकतामा राखेर पहल गर्नुपर्ने उल्लेख गर्दै पानी अभावका कारण विभिन्न स्थानमा धारामा लामो लाइन लाग्ने गरेको बताए।
पोखरेलीलाई प्रशोधित खानेपानी उपलब्ध गराउने उद्देश्यले २०७४ भदौमा शुरू भएको ‘पोखरा खानेपानी सुधार आयोजना’ २०८१ मंसिरमा जाइकाले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।
आयोजनाअन्तर्गत मर्दीखोलाको पानी पुरुञ्चौरमा प्रशोधन गरी २० इन्चका चार ओटा पाइपमार्फत पोखरामा ल्याउने व्यवस्था गरिएको छ।
तीन ओटा २० लाख लिटर क्षमताका ट्यांकी निर्माण भए पनि हाल पर्स्याङ र फूलबारीबाट मात्र वितरण भइरहेको छ भने कोलपाटनस्थित ट्यांकी प्राविधिक कारणले सञ्चालनमा आउन सकेको छैन।
आयोजनाले दैनिक करिब चार करोड १० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता राखे पनि पोखरामा दैनिक आठ करोड लिटरभन्दा बढी पानीको माग रहेकाले आपूर्ति र मागबीच ठूलो अन्तर देखिएको छ।
खानेपानी अभावले पर्यटन व्यवसायसमेत प्रभावित हुन थालेपछि दीर्घकालीन समाधानको आवश्यकता अझ टड्कारो बनेको व्यवसायीहरूको भनाइ छ।