काठमाडौँ । पोखरा महानगरपालिका–२१ स्थित फोहर विसर्जनस्थलमा बिहीवार बिहान तीनओटा शक्तिशाली ग्रिनेड बम फेला परेका छन् ।
महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहरको थुप्रोमा कवाडी वस्तु संकलन गर्ने क्रममा रिमा शेर्पाले उक्त विष्फोटक पदार्थ फेला पारेकी हुन् ।
पोखरा–१७ स्थित रातोपैह्रा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहर संकलन गरी ल्याएको महानगरपालिकाको ग १ ख ५४३७ नम्बरको गाडीले विसर्जनस्थलमा खसालेको फोहरमा ती बम भेटिएका थिए । संकलनकर्ता शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तुलाई चलाउन खोज्दा त्यहाँ कार्यरत एस्काभेटर चालकले देखेपछि तत्काल सुरक्षित राख्न लगाएका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामको टोली तत्काल घटनास्थल पुगेर उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
फेला परेका ग्रिनेडहरूलाई सुरक्षित तवरले निष्क्रिय पार्नका लागि नेपाली सेनाको विष्फोटक पदार्थ व्यवस्थापन टोली (बम डिस्पोजल स्क्वाड) लाई खबर गरिएको प्रहरीले जनाएको छ ।
सर्वसाधारणको बढी आवतजावत हुने क्षेत्रबाट उठाइएको फोहरको थुप्रोमा यति गम्भीर प्रकृतिका विष्फोटक पदार्थ कसरी र कसले पुर्यायो भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।