arrow

काठमाडौँ महानगरको २५ अर्ब ८८ करोडको बजेट पारित, पाँच ऐन संशोधन प्रस्ताव नगरसभामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
kathmandu-mahanagar.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरसभाको १९औँ अधिवेशनअन्तर्गत शुक्रबार बसेको चौथो बैठकले कार्यक्रम तथा बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि सर्वसम्मत स्वीकृत गरेको हो।

कार्यवाहक प्रमुख सुनिता डंगोलले असार ४ गते प्रस्तुत गरेको बजेटमाथि छलफलपछि राष्ट्रिय सभा गृहमा बसेको बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

पारित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने तथा ७५ करोड रुपैयाँ बाह्य व्ययभारतर्फ विनियोजन गरिएको छ।

नगरसभामा आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम तथा बजेट, विनियोजन विधेयक-२०८३ र आर्थिक विधेयक-२०८३ माथि विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा सभा सदस्य आशामान संगत, रोजिना श्रेष्ठ, मचाराजा महर्जन, उदयचुडामणि बज्राचार्य, अनिलकुमार श्रेष्ठ, हीरादेवी पोखरेल, सन्तोष ढुङ्गेल, सीता विसुन्के, चन्द्रमान तुलाधर, भगवान बुढाथोकी, रचना सुनाम र शर्मिला परियारले संशोधन प्रस्तावसहित सहरी व्यवस्थापन, सेवा प्रवाह र विकासका विषयमा विभिन्न सुझाव दिएका थिए।

ती सुझाव र संशोधन प्रस्तावलाई समेटेर बजेट पारित गर्न कार्यवाहक प्रमुख डंगोलले सभासमक्ष प्रस्ताव राखेकी थिइन्, जसलाई नगरसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

यसैबीच, विधायन समितिका संयोजक तथा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले पाँच वटा ऐन संशोधनसम्बन्धी प्रस्ताव पनि सभामा पेस गरेका छन्।

उनले जनस्वास्थ्य ऐन-२०८० (पहिलो संशोधन), शिक्षा ऐन-२०७५ (दोस्रो संशोधन), विवाद निरूपण (कार्यविधि) ऐन-२०७५ (पहिलो संशोधन), विपद् व्यवस्थापन ऐन-२०७७ (पहिलो संशोधन) र कर्मचारी सेवा ऐन-२०७७ (चौथो संशोधन) सभामा दर्ता गराएका हुन्।

ती संशोधन प्रस्तावहरू नगरसभामा लैजानुअघि शुक्रबार बिहान बसेको कार्यपालिकाको ५३औँ बैठकले स्वीकृत गरेको थियो।

नगरसभाले ती ऐन संशोधन प्रस्ताव तथा अन्य एजेन्डामाथि थप छलफल गर्न असार २३ गते मंगलबार दिउँसो ३ बजे पाँचौँ बैठक बोलाउने निर्णय गरेको छ।

आगामी बैठकमा ऐन संशोधनका विषयमा विस्तृत छलफल गरी निर्णय गरिने महानगरपालिकाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ