काठमाडौँ । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित एक कार्यक्रमका बीच खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा पुर्याइएको हो।
इरान सरकारले जुलाई ४ र ५ मा राजधानी तेहरानमा दुई दिने विशेष सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रमको आयोजना गरेको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का अनुसार यस ऐतिहासिक अन्त्येष्टि समारोहमा झन्डै २ करोड (२० मिलियन) सम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ, जसले यसलाई इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक बनाउनेछ।
इरानी अधिकारीहरूका अनुसार अयातोल्लाह अली खामेनीको यसै वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परेर मृत्यु भएको थियो। उनको निधनपछि छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको छ।
सुरक्षा जोखिमका कारण नयाँ सर्वोच्च नेता मोजतबा खामेनी आफ्ना पिताको अन्त्येष्टि समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने बताइएको छ। भारतका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि आयातोल्लाह हाकिम इलाहीका अनुसार इजरायलबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौती र उच्च निगरानीका कारण नयाँ नेता सार्वजनिक रूपमा उपस्थित नहुने निर्णय गरिएको हो।
खामेनीको निधनप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गरी गहिरो समवेदना व्यक्त गरेका छन्। सो क्रममा उनीहरूबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा अवस्था, होर्मुज जलडमरूमध्य, लेबनान युद्धविराम र जारी कूटनीतिक वार्ताबारे समेत छलफल भएको इरानी सरकारले जनाएको छ।
यसैगरी, भारत सरकारका तर्फबाट बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) सैयद अता हसनैन तथा विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटा जुलाई ३ मा इरान पुगेर अन्त्येष्टि समारोहमा सहभागी हुने भारतको विदेश मन्त्रालयले जनाएको छ। घानास्थित इरानी दूतावासले पनि सन् २०१६ मा तत्कालीन घानाका राष्ट्रपति जोन ड्रामानी महामा र खामेनीबीच भएको भेटवार्तालाई स्मरण गर्दै अफ्रिकालाई आत्मनिर्भर र सम्मानित महादेशका रूपमा हेर्ने खामेनीको दृष्टिकोणप्रति श्रद्धाञ्जली सन्देश सार्वजनिक गरेको छ।
इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार जुलाई ४ को बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम सुरु हुनेछ भने जुलाई ५ को बिहान अन्तिम प्रार्थना आयोजना गरिनेछ। त्यसलगत्तै राजधानीको फराकिलो मार्ग हुँदै विशाल शवयात्रा निकालिनेछ।
आईआरजीसीको तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार अत्यधिक भीड हुने भएकाले एउटै सडक प्रयोग नगरी फराकिलो क्षेत्रमा शवयात्रा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। कार्यक्रमका लागि तेहरानका मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकायहरू पूर्ण रूपमा परिचालन गरिएको छ भने सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य र सरसफाइको विशेष व्यवस्था गरिएको छ। इरानी अधिकारीहरूले समारोहमा प्रारम्भिक रूपमा १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्म मानिस आउने आकलन गरे पनि यो सङ्ख्या २ करोडसम्म पुग्न सक्ने दाबी गरेका छन्।