हर्मुज खुला राख्न र लेबनानमा तनाव रोक्न सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति
दक्षिण लेबनानमा सेना आवश्यक परेसम्म रहने र इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने नेतान्याहूको अडान
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
380
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी तीव्र तनाव अन्त्य गर्ने उद्देश्यका साथ स्विट्जरल्यान्डको स्विस रिसोर्ट बुर्गेन्स्टकमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको छ। मध्यस्थता गरिरहेका कतार र पाकिस्तानका अनुसार पहिलो चरणको यो वार्ता निकै सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको छ। दुवै पक्षबीच रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गको आवागमनलाई खुला राख्ने र लेबनानमा पुनः द्वन्द्व भड्किन नदिनका लागि विशेष सम्पर्क च्यानल तथा प्राविधिक संयन्त्र स्थापना गर्ने सहमति भएको छ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त आक्रमणपछि इरानले हर्मुज जलमार्गको आवागमन अवरुद्ध पारेपछि क्षेत्रीय तनाव उत्कर्षमा पुगेको थियो। हालै सम्पन्न समझदारी अनुसार त्यस क्षेत्रमा कुनै पनि गलत बुझाइ वा अप्रत्याशित घटनाबाट तनाव बढ्न नदिन दुई देशबीच प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गरिएको छ भने लेबनानमा पुनः हिंसा भड्किन नदिन र युद्धविरामलाई थप मजबुत बनाउन सम्बन्धित पक्ष तथा लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले ‘डि–कन्फ्लिक्सन सेल’ गठन गरिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा आइतबारदेखि औपचारिक रूपमा सुरु भएको यो वार्ता प्रक्रिया आगामी दुई महिनासम्म चल्नेछ र बाँकी प्राविधिक छलफल यो साताभर स्विट्जरल्यान्डमै जारी रहनेछ।
वार्ताको सकारात्मक प्रभावस्वरूप इरानमाथिको नाकाबन्दी हटाइएको, तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएको, रोकिएका केही इरानी सम्पत्ति फुकुवा गरिएको र इरानको पुनर्निर्माणका लागि योजनाहरू सुरु भइसकेको जानकारी इरानी विदेशमन्त्री अब्बास अराघचीले दिएका छन्। तर वार्ताको प्रारम्भिक चरण भने निकै तनावपूर्ण बनेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहलाई समर्थन गरेको आरोप लगाउँदै इरानमाथि सैन्य कारबाहीको चेतावनी दिएपछि इरानी प्रतिनिधिमण्डल केही समयका लागि वार्तास्थलबाट बाहिरिएको थियो भने इरानका मुख्य वार्ताकार गालिबाफले आफ्ना सशस्त्र बल जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको जवाफ फर्कएका छन्। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने दक्षिण लेबनानमा सेना आवश्यक परेसम्म रहने र इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो अडान दोहोर्याएका छन्।
अहिले दक्षिण लेबनानमा नयाँ इजरायली आक्रमण वा ठुलो सैन्य भिडन्तको समाचार नआएकाले केही स्थानीय बासिन्दा सावधानीपूर्वक आफ्नो घर फर्किन थालेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यस द्वन्द्वमा हालसम्म ४,१०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले हिजबुल्लाह गम्भीर रूपमा कमजोर बनेको र त्यसको पुनर्गठन रोक्न इजरायल तयार रहेको दाबी गर्नुभएको छ।
यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार नत्याग्ने तर आफ्नो देशको आणविक बम निर्माण गर्ने कुनै योजना वा उद्देश्य नरहेको कुरा लिखित रूपमै दिन तयार रहेको स्पष्ट पार्नुभएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस वार्तालाई ऐतिहासिक बैठकको संज्ञा दिँदै दुवै पक्ष मिलेर मध्यपूर्वको भविष्य परिवर्तन गर्न सक्ने आशा व्यक्त गर्नुभएको छ, यद्यपि मध्यपूर्व क्षेत्रभरि सक्रिय रहेका अन्य इरान समर्थित सशस्त्र समूहहरूका बारेमा भने वार्तामा अझै ठोस छलफल भइसकेको छैन।