अमेरिका–इरान वार्ताका लागि अमेरिकी कूटनीतिज्ञ विटकफ स्वीट्जरल्याण्ड प्रस्थान
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
185
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच तय भएको महत्त्वपूर्ण वार्ता स्थगित भए तापनि अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार विटकफ अल्पाइन मुलुकतर्फ प्रस्थान गरेको जनाएका हुन्।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै कूटनीतिक समाचार पोर्टल एक्सियोसले विटकफ शुक्रबार नै वार्ताका लागि स्वीट्जरल्याण्ड प्रस्थान गरेको पुष्टि गरेको छ।
सीएनएनका अनुसार प्रारम्भिक शान्ति सम्झौतालाई पुनः ‘सही दिशामा ल्याउने’ उद्देश्यका साथ अमेरिका र इरानबीच प्राविधिक तहका वार्ताहरूलाई अघि बढाउने प्रयास भइरहेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुशनर पनि सोही वार्ताका लागि स्विट्जरल्याण्ड पुग्ने अपेक्षा गरिएको छ। एक्सियोसले भने कुशनर यसअघि नै त्यहाँ पुगिसकेको दाबी गरेको छ। यद्यपि, विटकफले इरानी अधिकारीहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने वा नगर्ने भन्नेबारे ठोस जानकारी सार्वजनिक भइसकेको छैन।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पनि स्वीट्जरल्याण्ड भ्रमण तय भएको थियो, तर विशेष कारणवश उनको भ्रमण हाललाई स्थगित गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मध्यपूर्वमा जारी भीषण द्वन्द्व अन्त्य गर्ने र दीर्घकालीन राजनीतिक समाधानतर्फ अघि बढ्ने उद्देश्यका साथ शुक्रबारका लागि यो अमेरिका–इरान वार्ता तय गरिएको थियो। वार्ता स्थगित भए पनि नयाँ मिति भने अझै औपचारिक रूपमा घोषणा गरिएको छैन।
गत फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली संयुक्त सैन्य आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि मध्यपूर्वमा युद्धले उग्र रूप लिएको थियो। सोही तनावलाई मत्थर पार्न यो कूटनीतिक प्रयास भइरहेको छ।