नेपाली जनसम्पर्क समिति जापानको सातौँ महाधिवेशन आइतबार, गगन थापाको सम्बोधन
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
322
Shares
टोकियो । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानको सातौँ ऐतिहासिक अधिवेशन आगामी आइतबार ५ जुलाईमा हुने भएको छ । महाधिवेशन राजधानी टोकियोस्थित चुवाकी गार्डेन, शिबुयामा आयोजना हुने भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रमुख अतिथिका रूपमा जुममार्फत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।
“राष्ट्रियता, लोकतन्त्र, समाजवाद” भन्ने मूल नारा तथा “हाम्रो उद्देश्य, समुन्नत नेपाल, सम्मानित नेपाली” भन्ने भावनाका साथ आयोजना हुन लागेको महाधिवेशन स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि शुरू हुनेछ ।
समितिले जापानभर रहेका नेपाली कांग्रेस समर्थक, शुभेच्छुक तथा नेपाली समुदायलाई महाधिवेशनमा सहभागी भई संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन योगदान पुर्याउन आग्रह गरेको छ।
सम्पर्क, सहयोग र एकताको आधारमा समृद्ध नेपाली समाज निर्माण गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा तय गरिने अपेक्षा गरिएको छ।
विविध कारणले १० वर्षसम्म हुन नसकेको अधिवेशन विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गराउन लागेको हो ।
२३ सय भन्दा बढी क्रियाशील सदस्य सम्पर्क समिति जापान अन्तर्गत रहेका छन् । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै पार्टीको आसन्न १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूसमेत चयन गर्नेछ ।
सम्पर्क समितिका सभापति रोशन केसीले सातौँ अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।